लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् ।
कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो । लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
हरहर महादेवको पूजा गरेपछि पानी पर्ने विश्वासका साथ पूजा गरी बाजागाजासहित बजार परिक्रममा गरिएको हो । युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो ।
स्थानीयवासीले आआफ्नो घरबाट पानीले स्वागत गरेका थिए । सो क्रममा ‘हरहर महादेव पानी देऊदेऊ, यतिले पुगेन अझै थपिदेऊ’ जस्ता श्लोकहरू गाइएको थियो । लामो समयसम्म पानी नपर्दा जिल्लामा लगाइएका मकै तथा तरकारी बाली सुकेका छन् । यो सँगै जिल्लाको विभिन्न स्थानमा इन्द्र भगवान्को पूजा गरिनुका साथै भ्यागुताको बिहेसमेत गरिएको छ ।
पानी माग्न भ्यागुताको बिहे
वालिङ : असार लाग्न थाल्यो । किसानहरू मानो खाएर मुरी उब्जाउने कार्यका लागि खेतबारीमा हुने बेला हो । खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बीउ राख्ने बेलामा लामो समय खडेरी परेको छ । केही किसानले धान तथा कोदोको बीउ राखिसकेका छन् । केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन् । खडेरीका कारण बीउसमेत राख्न नपाएका किसान चिन्तित त छँदैछन् । बीउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन् ।
केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन् । किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन् । लामो समय पानी नपरेपछि पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको बेहुली पक्ष वालिङ–६ भरुवाका नारायणप्रसाद भण्डारीले बताउनुभयो ।
वालिङ–८ को ब्याङतुङबाट बेहुला पक्ष जन्तीसहित भरुवा पुगेर विधिपूर्वक भ्यागुताको बिहे गरिएको हो । “पहिले पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे”, उहाँले भन्नुभयो, “चार वर्षअघि पनि यस्तै खडेरीमा भ्यागुताको बिहे गरेका थियौँ, उक्त दिन पानी आएको पनि थियो, यसपटक आकाश त गर्जियो तर पानी परेन ।”
रूढीवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको उहाँ बताउनुहुन्छ । ब्याङतुङबाट भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएको बेहुला पक्षका गोपालधन सुवेदीले बताउनुभयो । स्थानीयवासीको उपस्थितिमा विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिएको सुवेदीले बताउनुभयो ।
भ्यागुताको विवाह मौसमसँग सम्बन्धित रहेको विश्वास रही आएको छ । भ्यागुता वर्षाको समयमा बाहिर निस्कने भएकाले दुई भ्यागुतको विवाहलाई प्रतीकका रूपमा मान्ने गरिएको छ । भ्यागुता/भ्यागुताबीच सम्बन्ध भएपछि वर्षा हुन्छ भन्ने विश्वास रही आएकाले यसैका आधारमा यहाँका स्थानीयवासीले पानीको आशमा भ्यागुताको बिहे गराएका हुन् । भ्यागुताको बिहे गरेमा इन्द्रदेव खुसी भई पानी दिने विश्वास पनि रही आएको छ ।
लामो समय खडेरी हुँदा तापक्रम बढ्दै गएको छ । तापक्रम बढेकै कारण जनजीवनसमेत प्रभावित भएको छ । दैनिकी तथा स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका छन् ।