महेन्द्रनगर (धनुषा), ४ पुस : नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले बिहीबार र शुक्रबार हुन गइरहेको पार्टीको प्रथम मधेस सम्मेलनले सङ्घीयतामा हिम्मत थप्ने बताउनुभएको छ ।
जनकपुरधाममा मधेस सम्मेलनको पूर्वसन्ध्यामा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति यादवले सम्मेलनले सङ्घीयता र गणतन्त्रलाई थप बल प्रदान गर्ने बताउनुभयो ।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पनि रहनुभएको सभापति यादवले सम्मेलनमा पार्टी सभापति, दुवै उपसभापति, दुवै महामन्त्रीसहित, मन्त्री र नेताहरुको सहभागिता रहने बताउनुभयो ।
सभापति यादवले कांग्रेसको नेतृत्वबिना देश मात्र नभई मधेस पनि अगाडि बढ्न नसक्ने स्थितिको सिर्जना भएकाले त्यस सम्बन्धमा पनि सम्मेलनले ठोस निष्कर्ष निकाल्ने बताउनुभयो ।
कांग्रेस विधानले चल्ने पार्टी भएकाले कुनै कसैका लागि विधान मिच्दा अन्य धेरै असन्तुष्ट हुने भएकाले सम्मेलन सबैको भएकाले सक्रिय सहभागिता जनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
पार्टीको मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले आजको बैठकमा भएका निर्णयबारे जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा पार्टी मधेसका उपसभापति तथा मधेस सरकारका मन्त्री वीरेन्द्रप्रसाद सिंह, कोषाध्यक्ष प्रदीप यादव, नेता तथा पूर्वमन्त्री रामसरोज यादव, मधेस प्रदेश सूचना सञ्चार प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्तासहितका नेताहरुको उपस्थिति थियो ।