काठमाडौँ । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम सम्पन्न भएको छ ।
असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुचि भएका ६० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए । तालिमको उद्देश्य फोटोपत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार तस्बिरको गुणस्तर सुधार गर्नु, फोटो क्याप्सन लेखन, फोटो सम्पादन तथा दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) सम्बन्धी ज्ञान र सीप विकास गर्नुका साथै फोटोपत्रकारिताको नैतिकता, उत्तरदायित्व तथा आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी गराउनु रहेको थियो ।
तीनदिने तालिममा फोटोपत्रकारिताको परिचय र विकास, समाचार मूल्य तथा फोटो छनोट, फोटो क्याप्सन लेखन, दृश्य कथन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन, क्यामरा सेटिङ, ब्रेकिङ न्युज कभरेज, फोटोपत्रकारिताको आचारसंहिता तथा नैतिकता, फिल्ड अभ्यास र फोटो समीक्षालगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिममा वरिष्ठ फोटोपत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य, राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले सहजीकरण गरेका थिए ।
समापन समारोहमा संस्थाका पूर्वअध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार मिनरत्न वज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भई प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे । उनले यस्ता सीपमूलक तालिमले फोटोपत्रकारहरूको व्यावसायिक दक्षता, सिर्जनशीलता तथा जिम्मेवारीबोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । तालिमका सहभागीहरूले सैद्धान्तिक कक्षासँगै व्यावहारिक अभ्यास, समूह छलफल तथा फिल्ड फोटोग्राफीमा सक्रिय सहभागिता जनाएका थिए। अन्तिम दिन सहभागीहरूले खिचेका तस्बिरहरूको समीक्षा तथा मूल्याङ्कनसमेत गरिएको थियो ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्तले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले नेपाली फोटोपत्रकारिताको गुणस्तर थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तर सञ्चालन गरिने बताए । कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर’का अनुसार तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ। आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन फोटोग्राफी, भिडियोग्राफी तथा एडभान्स फोटोग्राफीसम्बन्धी तालिमहरू अझ व्यापक सहभागितासहित सञ्चालन गर्ने संस्थाको योजना रहेको उनले जानकारी दिए ।
तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याएकोमा सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षकहरू, अतिथिहरू, सहभागीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले आभार व्यक्त गरेको छ ।