नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको भन्दै त्यसको पुनर्गठनको लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’  पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता शर्माले नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको टिप्पणी गरे।

शर्माले भने, ‘अब नेपाली कम्युनिष्ट आन्दोलन अल्मलियो। वैचारिक रुपले अल्मलियो, राजनीतिक रुपमा गञ्जागोलमा गयो। र सांगठनिक रुपले त एउटा नोकरशाहीतन्त्रमा फेरियो। र विघटन भयो। मलाई लाग्दैन यहाँ अहिले कम्युनिष्ट आन्दोलन जीवित छ। कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरू मात्रै जिवित हो हामी। हामीलाई समर्थन गरेका जनता र हामी मात्रै जिवित हो। कम्युनिष्ट आन्दोलन विघटन भइसकेको छ। यो विघटित अवस्थामा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठिक गर्ने एउटा नयाँ अभियानको आवश्यकता छ।’

उनले अहिले कम्युनिष्ट आन्दोलनभन्दा पनि त्यसमा आवद्ध नेता र समर्थक मात्रै बाँकी रहेको टिप्पणी गर्दै आन्दोलनको मूल शक्ति विघटन भइसकेको दाबी गरे। यस्तो अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उनको भनाइ छ।

शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको उल्लेख गर्दै अहिले त्यो आधार उल्लेखनीय रूपमा खस्किएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *