भरतपुर (चितवन) २ पुस : बागमती प्रदेशस्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते सङ्घको आयोजना र नेपाल सितोरियो कराते सङ्घ बागमती प्रदेशको व्यवस्थापनमा भरतपुरको कभर्ड हलमा आजदेखि कार्यक्रम सुरु भएको हो । समारोह तीन दिनसम्म चल्नेछ ।
बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले समारोहको उद्घाटन गर्नुभयो । खेललाई पेशाको रुपमा अपनाउँँदै जीवनयापन गर्न नसक्दा खेलाडी विदेशिने अवस्था आएको भन्दै मन्त्री महर्जनले चिन्ता व्यक्त गर्नुभयो । भविष्य निर्माणका लागि विदेशिरहेका खेलाडीलाई देशमै रोक्ने अवस्था सृजना गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।
युवा र खेलाडी देशको भविष्य भएको भन्दै मन्त्री महर्जनले उनीहरुको जीवनसँग खेलवाड गर्न नहुने तर्क गर्नुभयो । करातेले खेलाडी अनुशासन सिकाउने भन्दै यस खेलको प्रवर्द्धनमा थप जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री महर्जनले कराते सङ्घ चितवनको भवन स्तरोन्नतिका लागि प्रदेशको आगामी बजेटमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी आवको बजेटमा यसका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री महर्जनले सङ्घको भवनको स्थलगत अवलोकन गर्नुभएको छ ।
दिक्षान्त समारोहमा बागमती प्रदेशका १२ जिल्लाबाट करिब दुई सय ५० खेलाडी सहभागी छन् । उनीहरुलाई खेलको नियम, आत्मरक्षासम्बन्धी प्रशिक्षण दिइनेछ । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक तुलसीकुमार महर्जनले प्रशिक्षण दिने सितोरियो कराते सङ्घ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिनुभयो ।
अन्तिम दिन सहभागीको परीक्षा लिएर उनीहरुलाई दिक्षित गरिनेछ । सोही अनुसार उनीहरुलाई फस्ट डन, सेकेण्ड डन र थर्ड डनबाट दिक्षित गरिनेछ ।