घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

झापा, २९ असोज : सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

उहाँका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेको प्रवक्ता दाहालले बताउनुभयो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई मङ्गलबार नै आयोगको केन्द्रीय कार्यालय काठमाडौँमा पठाइने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *