ओलीलाई अर्यालको चिठी- तपाईंलाई आर्मि क्याम्पमा बन्दि बनाएको खबर सुन्दा चिन्तित छु

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य दामोदर अर्यालले एमाले अध्यक्ष केपी ओलीको नाममा खुला चिठी लेखेका छन्।

सामाजिक सञ्जालमार्फत नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग उपप्रमुख समेत रहेका अर्यालले केपी ओलीलाई सम्बोधन गरेर चिठी लेखेका हुन् ।

 

यस्तो छ नेता अर्यालले ओलीलाई लेखेको चिठी

 कमरेड केपी ओली
लाल सलाम ।

म त आरामै छु। सदाझै आजपनि निर्धक्क सडकमै हिडिरहेको छु। कमरेड पनि आरामै हुनुहुन्छ होला भन्ने आशा गर्द्छु। तर तपाईंलाई अघोषितरुपमा आर्मि क्याम्पमा बन्दि बनाएको खबर सुन्दा अलिकति चिन्ता चाहि लागेकै छ।

त्यस बाहेक हिजो कमरेडलाई आइ लभ यू बा भनेर उचाल्नेहरु पनि अझै भुमिगत नै छन्। उनीहरु जनताका बिचमा आउन सकेका छैनन्। शायद उनीहरु डराईरहेका होलान। आशा गरु, बिस्तारै बाहिर आउलान। बरु म हिजो केही साथीहरु सङ्गै तपाईको पार्टी कार्यालय च्यासल पुगेर आएँ। त्यहाँ सबै चिजहरु जलेर खरानी भएका रहेछन्।

त्यहाँ बिचौलियाहरुले उपहारका रूपमा ल्याईदिएका आलिशान फर्निचर र सोफाहरु जलेर खरानी भएकोमा खासै चिन्ता नलागे पनि त्यहाँ रहेको विशाल पुस्तकालय समाप्त भएकोमा भने आँखाबाट आँसुआयो। त्यहा कोके कालदेखिका ऎतिहासिक दस्तावेजहरु (जुन तपाईले कहिल्यै अध्ययन गर्ने र लागु गर्ने प्रयत्न गर्नु भएन) नेपाली जनताका अमुल्य सम्पत्ति थिए, ति पनि समाप्त भएको देखेर सार्है चित्त दुख्यो।

कमरेड, हाम्रो पार्टी कार्यालय आलोकनगरमा पनि असाध्यै क्षति भएको छ। हामीले त पहिल्यैदेखि भनेका थियौ, प्रतिक्रियावादीहरु फेरी जागे भने च्यासल र आलोकनगर भनेर छुट्याउदैनन्। एकसाथ समाप्त पार्छन। तर तपाईले हाम्रा कुरा पत्याउनु भएन। भयो त्यही।

कमरेड, बन्दी जीवनमा पनि औसधि खान नछुटाउनु होला। तपाईंले अब २५ वर्ष एमाले अध्यक्ष हुन्छु भनेपनि तपाईंको शरीर दिनप्रतिदिन कमजोर भएकोमा हामि चिन्तित छौं। हामी चाहान्छौं, तपाईं दुई सय वर्ष बाच्नु होस्। तर अध्यक्षको रूपमा होइन। हामीले त हाम्रो नेताहरुको राजीनामा मागिसक्यौं। तपाईं पनि राजीनामा दिनुहोस्। यसले तपाईंको स्वास्थ र समग्र वाम आन्दोलनको स्वास्थलाई राम्रो हुन्छ। एमालेलाई त प्रत्यक्ष फाईदा नै हुन्छ।

समाचारबाट थाहा पाए, नेपालभरिको बिचौलियाहरुको मक्का मदिना ठानिने तपाईंको बालकोटस्थित आलिशान निजि निवास आम जनताको निशानामा परेर खरानी भयो। त्यो भवन समाप्त भएकोमा भन्दा अव तपाईं कहाँ बस्नुहोला भनेर मलाई असाध्यै पिर परेको छ। तपाईंलाई बा भन्ने तपाईंका छोराछोरीहरुले अब तपाईंलाई चिन्न पनि अस्विकार गर्नेछन्। किनकि आज तपाई सत्तामा हुनुहुन्न र अब सत्तामा आउने संभावना पनि छैन।

यस्तो अवस्थामा उनिहरुले तपाईंलाई बा होइन, बरु छुच्चो झापाली बुढो भनेर संवोधन गर्लान कि भन्ने मलाई डर छ। किन कि तपाईंले तिनीहरुलाई संस्कार नै सिकाउनु भएन। आफैसङ्ग करिब पचास वर्ष सङ्गै काम गरेको आफ्नै नेता माधव नेपाललाई नाम लिदा कुल्ला गर्नुपर्छ भनेर भन्नु भएको होइन र ? यसबाट उनिहरुले के कुरा सिके होलान भनेर म सहजै अनुमान गर्न सक्छु। खैर, बितेको कुरा सकियो।

बाँकी कुरा तपाईं बाहिर आएपछि भेटेर नै छलफल गरौला। वाम आन्दोलन यस्तो अवस्थामा कसरी पुग्यो ? यसको दोषी को हो? त्यस्को पनि समिक्षा गरौला। हस त आजलाई यत्ति। स्वास्थको ख्याल गर्नुहोला।

                      दामोदर अर्याल
पोलिटब्यूरो सदस्य नेकपा (एकीकृत समाजवादी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *