नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य, पशुपक्षी तथा डेरी मन्त्री पुरुषोत्तम रुपालाबीच भएको छलफलमा लम्की स्किन रोगको नियन्त्रणमा दुवै देश मिलेर अगाडि बढ्ने सहमति भएको हो ।
मन्त्री भुसालले हालै गर्नुभएको भारत भ्रमणका क्रममा भएको समझदारीबारे जानकारी दिन आज आयोजित कार्यक्रममा नेपाल र भारतका सीमावर्ती जिल्लामा मिलेरै लम्पी स्किन रोगको भ्यक्सिनेसन गर्ने सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
यस्तै खोरेत रोग उन्मूलनका लागि भारत मिलेर अगाडि बढ्न तयार देखिएको मन्त्री डा भुसालले बताउनुभयो । त्यसका लागि दुवै देशको सरकारी पक्षबाट आवश्यक काम अगाडि बढाउने सहमति भएको छ । भारतले गाई र च्याङ्ग्रााको नश्ल सुधारका लागि उन्नत पशु नेपाललाई दिने भएको छ । गाईको गिर र साइवाल गाईको उन्नत जात नेपाललाई दिने भारतीय पशुपक्षीमन्त्री रुपालाले प्रतिबद्धता जनाउनुभएको जनाइएको छ ।
सीमावर्ती नाकाबाट गैरकानूनीरूपमा पशुपक्षी र माछा आयात, निर्यातमा कडाइ गर्ने दुवै देशले प्रतिबद्धता जनाएका छन् । तीन दिने भारत भ्रमण गर्नुभएका मन्त्री भुसालले भारतका कृषि, पशुपक्षी र रसायन एवं उर्वरक मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।
भारतीय कृषिमन्त्री नरेन्द्र सिंह तोमरसँगको छलफलमा नेपाली टमाटरलाई निर्यातको प्रक्रिया यथाशीघ्र गर्नेगरी छलफल भएको छ । क्वारेन्टाइन सूचीमा नेपालमा उत्पादित टमाटर, मुला, मोटरकोसा, किवी, एभोकाडो, अकबरे खुर्सानी राख्न भारत सकारात्मक देखिएको छ । यी कृषिजन्य उत्पादनलाई आफ्नो क्वारेन्टाइन सूचीमा राख्ने भारतले प्रतिबद्धता जनाएको छ ।
भारतीय कृषि अनुसन्धान परिषद्सँगको छलफलमा उखु र कफीका उन्नत बीउ नेपालमा दिन भारतले सहमति जनाएको छ । कृषि तथा पशुपक्षीको अनुसन्धानमा भारतीय कृषि अनुसन्धान परिषद्ले थप सघाउने र यहाँको क्षमता अभिवृद्धिमा सहजीकरण गर्ने सहमति भएको छ ।
साथै मन्त्री भुसालले भारतका रसायन एवं उर्वरकमन्त्री डा मनसुख माण्डवियसँगको भेटमा विशाखापट्टनममा इण्डियन पोटास लिमिटेडले ल्याएको रासायनिक मललाई सरलरूपमा सहजीकरण गर्नेबारे कुराकानी भएको थियो । भारतीय मन्त्री माण्डवियले विशाखापट्टनममा पुनःस्वीकृति लिन नपर्ने गरी आफूले मातहतका नियायसँग कुराकानी गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विशाखापट्टनमा आएको मललाई नेपालमा ल्याउन दुई महिना बढी समय लाग्दै आएको छ । अब यो झन्झट हट्ने विश्वास लिइएको छ ।
रासायनिक मल करिब दुई हजार पाँच सय मेट्रिक टन मात्र नेपालमा आउने गरेकाले मलको आपूर्ति हुन नसकेको भन्दै यसको क्षमता बढाउन नेपालका तर्फबाट आग्रह गरिएको थियो । उक्त आग्रहबमोजिम भारतले यसमा थप सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।