काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति अवलम्बन गरेको छ । स्थानीय उत्पादनको प्रयोग र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोगले यो व्यवस्था लागू गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री प्रयोग हुनेछन् । तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश तथा जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गरी प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद गरिनेछ । तीमध्ये अधिकांश सामग्री ‘जिटुजी’ (सरकार–सरकारबीच) अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत खरिद गरिने प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार निर्वाचन प्रयोजनका लागि करिब ६ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र नयाँ सामग्री खरिद गरिएको छ भने बाँकी आवश्यक सामग्री अघिल्ला निर्वाचनबाट बाँकी रहेका (स्टक) सामग्री पुनः प्रयोग गरिनेछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रमहरू समेत सम्पन्न भइसकेका छन् ।