बासु दुलाल
नेपालको आधुनिक राजनीतिक यात्रामा केही व्यक्तित्वहरू छन् जसले राजनीतिलाई सत्ता होइन, सेवा का रूपमा व्याख्या गरे। तिनमध्ये एक प्रमुख नाम हो -माधव कुमार नेपाल।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा समाजवादी राजनीतिक चेतनाका सन्तुलित वाहक। उनको जीवनशैली, विचार र व्यवहारले उनलाई नेपाली राजनीतिक परिदृश्यमा एक “सादा, सिद्धान्तप्रेमी र विवेकी नेता” को रूपमा स्थापित गरेको छ।
वर्तमान मा माधव नेपाललाई अन्य नेता सँगै एउटै वकेटमा राखेर उही प्रकारका रंग र आरोप लगाउनु नेपाली राजनीतिको अभिसाप हो । माधव नेपाल एउटा निष्कलङ्कित नेता हो तर केपी ओलीले आफ्नो आडम्बर शक्ति र सत्ताको उन्मादमा माधव नेपाल माथि भ्रष्टाचार को अभियोग (पतञ्जलि प्रकरण) का नाममा अख्तियार लाई प्रभाव पारेर मुद्दा दर्ता गरेर अन्य नेता र स्वयं ओली जस्तै बनाउने कोसिस गरेको चाहिँ सत्य हो ।
तर हामीले यो कुरा गहिरो गरी बुझ्नु र बुझाउनु पर्दछ ।अहिले पार्टीभित्र केही मान्छेले पुस्तान्तरण हुनुपर्छ एकीकृत समाजवादी मा माधव नेपालले नेतृत्व छोड्नुपर्छ भनिरहनुभएको छ। नेपाली कम्युनिस्ट आन्दोलनमा यति ठूलो संकट अहिलेसम्म आएकै थिएन। यो कम्युनिस्ट आन्दोलनलाई जोगाउने र नयाँ सिराबाट पुनर्गठित गर्ने समय हो। यो समय माधव नेपाललाई अध्यक्षबाट हटाउने र चार पाँच वर्ष कम उमेरको अर्को मान्छेलाई अध्यक्ष बनाउने समय हुँदै होइन ।
इतिहासले यस्तो तर्क गर्ने यो बेलाका कम्युनिष्टहरूलाई माफी दिँदैन। कम्युनिस्ट पार्टीमा नेतृत्व मा पुग्ने र नेतृत्व गर्ने अर्थात् मुख्य नेता बन्ने एउटा विधि हुन्छ त्यो विधि भनेको राष्ट्रिय महाधिवेशन हो हाम्रो पार्टीको हकमा राष्ट्रिय महाधिवेशन हामीले करिब एक वर्ष अगाडि सम्पन्न गरेका छौं। यो बीचमा भएको युवा पुस्ताको विद्रोहले नेपाली राजनीतिमा केही तरङ्गहरू अवश्य ल्याएको छ। तर अगाडि आउँदै गरेको संकटको बारेमा पार्टीका नेताहरुले बुझ्न नसकेकोमा हामीलाई ठूलो चिन्ता छ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई आगामी संकटहरुलाई चिर्दै समाजवादी लोकतन्त्रको स्थापना गर्नको निम्ति माधव नेपालहरूको अपरिहार्यता नबुझ्ने नेपाली कम्युनिस्ट आन्दोलनको नेता वा कार्यकर्ता हुन सक्दैन। म कुनै नेताको कहिल्यै पनि भक्तिगान गाउने मान्छेभित्र पर्दिन। तर वर्तमानमा कम्युनिष्ट आन्दोलनलाई पुनर्संठित गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको रूपमा रूपान्तरण गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने सक्षम बलियो दर्शन सिद्धान्त र विचारले ओतप्रोत सबैको (युवा प्रौढ र पाकाहरू) पार्टी को रुपमा बदल्न र माधव नेपालको नेतृत्व कमरेड झलनाथहरूको नेतृत्व अत्यावश्यक छ।
त्यसो भएको हुनाले यो पुस्तान्तरणको बहस निरर्थक बहस हो। यसको कुनै औचित्य छैन। औचित्यविहीन बहसमा लामो टिप्पणी गर्न आवश्यक छैन।
नेपालको राजनीतिमा माधव कुमार नेपालको अपरिहार्यता छ ।
सरल जीवन उच्च साेच
माधव नेपालको जीवनशैली नेपाली राजनीति भित्रको विलक्षण उदाहरण हो।
उनी सरल बस्त्र, सामान्य आवास र सादा भोजन मा सन्तुष्ट देखिन्छन्।आज सम्म माधव नेपाल कुनै व्यापारिक समूह वा व्यक्ति संग कहिले लेना देना बार्गेनिङ वा सम्पत्ति संचय गर्ने अभिप्राय उनको जीवनको लक्ष्य कहिल्यै बनेको देखिएन वा सुनिएन ।
उनी विचार, संगठन र असल राजनीति का प्रतिनिधि हुन् -जहाँ नैतिकता र संगठन प्रति उनको निष्ठा उनको जीवनको मात्र होइन हामिसबैले र आगामी पुस्ताले पनि सिक्ने मुख्य विषय हो।
फरक राजनीतिक पहिचान
अन्य नेताहरू जसरी जनताभन्दा पार्टी ,पद र निजी सम्पत्तिमा केन्द्रित नभई, माधव नेपाल सधैं संविधान, उन्नत लोकतन्त्र र साझा सहमति का पक्षधर नेता हुन् त्यसैले माधव नेपाल लाई अरु नेता जस्तै एउटै वकेट ( बाकस) मा राखेर हेर्ने भूल नगरौं ।
साझा सम्झौता र सन्तुलनको राजनीति मा उनको दखल गहिरो छ।माओबादी लाई शान्ति प्रक्रिया मा ल्याउने कुरा होस की २०५१ को अल्पमतको सरकारमा रहदा को काम या २०७२ को संविधान निर्माण गर्दा को उनले खेलेको भूमिका कुनै मूल्यमा पनि मिनिमाइज गर्न सकिँदैन ।राजनीतिक संस्कार र पार्टीभित्रको अनुशासन प्रति उनको दृढता ले उनलाई फरक अरु नेता भन्दा फरक बनाएकै छ
उनले सधैं संगठनलाई व्यक्तिवादभन्दा माथि राखे – जुन कुरा आजको नेपाली राजनीतिमा दुर्लभ गुण हो।
केपी ओलीको तानाशाही र अराजक प्रवृत्तिको विरोध
२०२१ तिर नेकपा (एमाले) भित्र जब अध्यक्ष केपी शर्मा ओली ले पार्टी लोकतन्त्र र आन्तरिक संवादको परम्परा तोड्दै एकल निर्णय, संसद विघटन र असंवैधानिक कदम चाल्न थाले,
त्यस बेला माधव नेपाल नै थिए जसले संविधान र जनमतको रक्षा गर्न विद्रोह गरे।सायद माधव नेपाल को नेतृत्वमा विद्रोह गर्न सकिएको थिएन भने हाम्रो लोकतन्त्र केपी ओलीले त्यहीबेला समाप्त पार्ने थिए ।आज माधव नेपालको फेर समाएर लोकतन्त्रको वैतरणी तर्ने हरु माधव नेपालको संरक्षणमा राजनीतिक गर्नेहरू नै पुस्तान्तरण र उमेरको कुरा निकाल्छन्। सायद तिनीहरुले चिनियाँ सांस्कृतिक क्रान्तिको बेला ७२ वर्षका माओसेतुङ ले संसारकै तेस्रो ठूलो नदी याग्न्से नदीमा हाम फालेर आफू बुडो नभएको प्रमाणित गरेका थिए । त्यो पढन भुलेका पो हुन कि ? माधव नेपाल लाई
ओलिको संसद विघटनको विरोध गर्दै स्पष्ट भनेका थिए कि –
“जनताको म्यान्डेट लत्याउने निर्णय लोकतन्त्रको हत्या हो।”
उक्त संघर्ष केवल पदका लागि होइन, सिद्धान्तका लागि थियो।
उनले आफ्नै दशकौंको मेहनतले निर्माण गरेको पार्टीबाट टाढा भएर पनि संविधानको रक्षा र सुसंस्कृत राजनीति रोजे – यो कदमले उनलाई “सिद्धान्तको राजनीतिज्ञ” को रूपमा स्थापित गर्यो। यो तथ्य आजका नव युवा Gen -z पुस्ताले पनि पढ्नु र बुझ्नुपर्ने हुन्छ।
नेकपा (एकीकृत समाजवादी) – पार्टीको स्थापना मात्र नभएर कम्युनिस्ट पार्टीको सिद्धान्तको पुनर्स्थापना
ओलीको तानाशाही विरुद्ध जन्मिएको नेकपा (एकीकृत समाजवादी) पार्टी केवल संगठन होइन, एक राजनीतिक चेतनाको पुनर्जागरण थियो।
माधव नेपालले यस पार्टीलाई
वैज्ञानिक समाजवाद,
सहकार्य र समावेशिता,
युवा नेतृत्वको उदय
को बाटोमा अघि बढाएका छन्।
उनले “पुरानो बाम आन्दोलनका मूल्य र Gen-Z को नयाँ चेतना” लाई जोड्ने पुल निर्माण गर्ने प्रयास गरेका छन्। जेन्जी पुस्ताले यो सत्यलाई पनि स्वीकार गर्नुपर्दछ कि पहिलोपल्ट ४५ वर्ष भन्दा कम उमेर समूहका युवाहरूलाई केन्द्रीय समितिमा २०%को हिस्सा दिने पहिलो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीहो । त्यसैले मान्छे विचारले चेतनाले योगदानले इमान्दारिताले कहिल्यै बुढो हुँदैन।
Gen-Z विद्रोह र माधव नेपालको बुझाइ
आजको युवा पुस्ता -Gen-Z – स्वतन्त्र सोच, पारदर्शिता र परिणाममुखी दृष्टिकोणका पक्षमा छ।
माधव नेपाल यस पुस्ताको मनोविज्ञान बुझ्ने विरल बुढापाका नेता हुन्।
उनी भन्छन् –
“नयाँ पुस्ता हाम्रो निरन्तरता हो, प्रतिस्पर्धा होइन। तिनलाई अवसर, दृष्टि र जिम्मेवारी दिनु नै हाम्रो कर्तव्य हो।”
त्यसैले उनी युवा–मैत्री समाजवाद का सशक्त प्रवक्ता हुन्। उनले युवालाई राजनीतिक अध्ययन, संगठनात्मक प्रशिक्षण र विचार निर्माणमा जोड दिइरहेका छन्।
उनले गरेका राम्रा कामहरू-
माधव नेपालले प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायतका भूमिकामा रहँदा केहि उल्लेखनीय कामहरू गरे –
१. राजनीतिक स्थायित्वको खोजी – संविधानसभाको नेतृत्व र राजनीतिक संक्रमणको व्यवस्थापनमा योगदान।
२. सहयोगात्मक विदेश नीति – भारत, चीन र अन्य छिमेकी देशसँग सन्तुलित सम्बन्ध।
३. संविधान निर्माणमा दृढ भूमिका – २०७२ को संविधानको रक्षा र कार्यान्वयनमा प्रमुख आवाज।
४. संगठन निर्माणमा योगदान – नेकपा (एमाले) लाई राष्ट्रिय पार्टी बनाउने क्रममा दशकौंको योगदान।
५. सादा जीवनको उदाहरण – भ्रष्टाचारमुक्त छवि, आत्मानुशासन र नीतिगत प्रतिबद्धता।
किन माधव नेपालको भूमिका अझै आवश्यक छ
आजको नेपालमा –
राजनीतिमा नीतिगत अस्पष्टता, छ त्यसलाई स्पष्ट बनाउन।
युवापुस्ताको आक्रोश, दलहरूमाथि जनअविश्वास, र
लोकतान्त्रिक संस्थाहरूको कमजोरिकरण
जस्ता चुनौतीहरू छन्।
यस्तो अवस्थामा माधव नेपालजस्ता संयमी, सैद्धान्तिक र सन्तुलित नेता देशका लागि मार्गदर्शक हुन्।
उनको भूमिका केवल एक पार्टीका लागि होइन, संपूर्ण लोकतान्त्रिक राजनीतिका लागि आवश्यक छ।
निष्कर्ष
माधव कुमार नेपाल नेपाली राजनीतिका ती शिखर व्यक्तित्व हुन् जसले सत्ता भन्दा सिद्धान्त, स्वार्थ भन्दा संगठन, र अहंकार भन्दा एकता रोजे।
उनको विद्रोह, उनको संयम र उनको विचारले देखाउँछ ।
“राजनीति सत्ता होइन, जनसेवा र चरित्रको परिक्षा हो।”
नेपाल जस्तो परिवर्तनशील देशमा यस्तो नेतृत्व दुर्लभ हुन्छ, र त्यसैले नेपालको राजनीतिक स्थायित्व र नैतिक पुनर्जागरणका लागि माधव कुमार नेपालको भूमिका अपरिहार्य छ ।
युवा नेता
नेकपा (एकीकृत समाजवादी )