
पाँचथरः आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी पाँचथरले चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीको जिल्ला समन्वय समितिको विशेष बैठकले ३४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संगठित रूपमा अभियान अघि बढाएको हो।
पार्टी केन्द्रीय सदस्य इन्द्रबहादुर आङबोको संयोजकत्वमा केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूलाई समेटेर निर्वाचन परिचालन समिति निर्माण भएको छ । समितिको बैठकले आर्थिक, सूचना तथा प्रचार, युवा परिचालन र उम्मेदवार प्रतिवद्धता सम्बन्धी छुट्टाछुट्टै समिति गठन गरेको छ। आर्थिक समितिको संयोजकमा विसाल रसाइली, सूचना तथा प्रचार समितिको संयोजकमा मनरथ चापागाई तथा युवा परिचालन समितिको संयोजकमा बिक्रम शंखर तोकिएका छन्। विभिन्न पालिका र वडामा संयोजकहरू तोकिएपछि पार्टीको संगठनात्मक संरचना जिल्लाभर सक्रिय बनेको छ।
याङवरक गाउँपालिकामा अर्जुन बेघा, पृथ्वी बहादुर बेघा, महेन्द्र योङया र जगत बहादुर कटुवाल संयोजक रहेका छन्। हिलिहाङ गाउँपालिकामा भवानी लिङदेन र मदन गौतम, फालेलुङ गाउँपालिकामा महेन्द्र जबेगु फुङनिमा, श्री प्रसाद जबेगु र तारावीर खपाङगी, फिदिम नगरपालिकामा टिका नेम्बाङ र खड्ग बोहोरा, फाल्गुनन्द गाउँपालिकामा शंखध्वोज नेम्बाङ र सागर नेम्बाङ संयोजक रहेका छन्। कुम्मायकमा अमरसिंह थापा, मेहन्द्र खड्का, बालकृष्ण शेर्मा र राजु खतिवडा , तुम्वेवामा देवेन्द्र खत्री र मिक्लाजुङमा दिनेश कुमार लावती, जुनु लावती, अमर राज माखिम, सिंह बहादुर लावती, अविसन लावती, भकेन्द्र लावती, राम कुमार राई, राजेन्द्र राई र गणेश योङ्हाङ छन् ।
सबै पालिकामा संयोजक तोकिएसँगै गाउँ–गाउँसम्म पार्टीको पहुँच विस्तार भएको जिल्ला नेता विशाल रसाइलीले जानकारी दिए । उम्मेदवार भेटघाट कार्यक्रमसमेत तालिका अनुसार सञ्चालन भएकाले मतदातासँग प्रत्यक्ष संवाद, छलफल र नागरिकको विश्वास जित्ने दौडमा नेता तथा कार्यकर्ता जुटिरहेको उनको भनाइ छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’लाई केन्द्रदेखि स्थानीय तहसम्मबाट संगठित सहयोग मिलिरहेको जिल्लाका नेताहरु बताउँछन् । सम्पर्क कार्यालय सञ्चालन, प्रचार संयन्त्र विस्तार तथा युवा परिचालनले उनको अभियानलाई सशक्त बनाएको छ ।

२०७४ पछिका वर्षहरूमा पाँचथरमा सडक, खानेपानी, सिँचाइ, जनता आवास, विद्यालय भवन, सामुदायिक भवन, खेलमैदान, अस्पताल तथा स्वास्थ्य संरचना, पर्यटकीय पूर्वाधार, विद्युतीकरण र कृषिमा आधुनिकीकरणलगायत क्षेत्रमा उल्लेखनीय कामहरू सम्पन्न भएका छन्। प्राकृतिक विपद्ले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण पनि क्रमशः अघि बढिरहनुमा उनको पनि पहल र योगदान रहेको जनाइएको छ । यसैकारण पाँचथरको विकाससँग मिक्सो नाम जोडिने गर्दछ । मिक्सोको पहलमा तमोर कोरिडोरका लागि ६ अर्ब रुपैयाँ बजेट सुनिश्चित भई सडक कालोपत्रे हुनु, शिवालय–गोरुवाले सडक निर्माण, साना पुल, खानेपानी आयोजना र सिँचाइ कुलोमा बजेट व्यवस्थापन हुनु उनका प्रमुख योगदानका रूपमा स्थानीयले स्मरण गर्ने गर्छन्। मिक्सो विगत २७ वर्षदेखि पाँचथरे जनतासँग निरन्तर सम्पर्कमा रहेका नेता हुन्। बिरामीको उपचारमा सहयोग, विपद्को बेला राहत व्यवस्थापन र जनताको समस्यामा प्रत्यक्ष साथ दिने उनको शैलीका कारण उनी जनमुखी नेताका रूपमा परिचित छन्। तर, हालसम्म भने अवसर नपाएका उनी नयाँ अनुहार हुन् ।
उनको राजनीतिक यात्रा जनयुद्धदेखि संगठन निर्माणसम्म फैलिएको छ। गम्भीर घाइते हुँदै संघर्ष गरेको अनुभव, पार्टी संगठनमा जिम्मेवारी सम्हालेको इतिहास र पछिल्ला निर्वाचनहरूमा देखिएको व्यवस्थापन क्षमताले उनलाई अनुभवी र भरोसायोग्य नेताका रूपमा उभ्याएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत उनको कार्यशैली र छविको खुलेर प्रशंसा गरेको बताइन्छ। प्रदेश सरकारमा इन्द्रबहादुर आङबो ‘मौसम’को नेतृत्वमा सुरु भएका विकासका कामलाई संघीय तहबाट निरन्तरता दिन सक्ने उम्मेदवारका रूपमा मिक्सोलाई हेरिएको छ।

पाँचथरमा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन्। १०२ मतदान स्थल र १७९ मतदान केन्द्रमार्फत मतदान हुनेछ। १५ जना उम्मेदवार मैदानमा भए पनि सबै पुरुष उम्मेदवार मात्र हुनु विशेष चर्चा बनेको छ।विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा रहे पनि संगठनात्मक तयारी, विकाससँग जोडिएको छवि, जनसम्पर्क र अनुभवका कारण हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को आधार बलियो देखिएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
पाँचथरका लागि मिक्सोले विभिन्न एजेन्डाहरु अघि सारेका छन् । पूर्वाधार विकासको निरन्तरता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, उत्पादन वृद्धि, उद्यमशीलता विकास र रोजगारी सिर्जनालाई प्राथमिक एजेन्डा बनाएका छन्। भाषण भन्दा बढी जनताको कुरा सुन्ने र जेन्जी भावना, युवा तथा बृद्धहरुको सोचाई अनुरुप अगाडी बढ्ने साथै काममा विश्वास गर्ने शैलीले उनलाई परिवर्तन चाहने मतदाताको रोजाइमा राखेको देखिन्छ। यसरी संगठनात्मक तयारी, विकाससँग जोडिएको नाम, जनसेवामा आधारित राजनीति, प्रदेश र केन्द्रसँगको समन्वय क्षमताका कारण पाँचथरमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ प्रतिनिधिसभा पुग्ने बलियो आधार निर्माण हुँदै गएको पार्टीका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ बताउँछन्