नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक शीघ्र पारित गर्नुपर्नेमा जोड दिएको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको उपस्थितिमा पदाधिकारी र पूर्वपदाधिकारीसहितको आज बसेको बैठकले सो विधेयक संसद्बाट शीघ्र पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकमा सो विधेयकका सम्बन्धमा संसदीय प्रक्रियामा भएको प्रगतिबारे प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउनुभएको थियो । कांग्रेसले सो विधेयक पीडितलाई स्वीकार हुने, अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने, यस सम्बन्धमा सर्वाेच्च अदालतको आदेशअनुसारको र दलहरूबीच पनि सर्वसम्मत हुनुपर्ने भनी निष्कर्ष निकालेको छ ।
बैठकमा प्रमुख सचेतक लेखकले उपरोक्त विषयमा लगभग सहमतिको नजिक पुगेको जानकारी गराउनुभएपछि संसद्मा यथाशीघ्र पारित गर्ने वातावरण बनाउन पार्टीका तर्फबाट सभापति देउवा र प्रमुख सचेतकले पहल गर्ने निष्कर्ष बैठकले गरेको थियो ।