काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी नवनिर्माणमा जुट्न आह्वान गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे शनिबार धारणा सार्वजनिक गर्दै उनले समयको पदचापअनुरूप हिँड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठूला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन वाध्य पारेको पनि बताएका छन् ।
कांग्रेस हिजो कहाँ चुक्यो, के भयो र के हुनुपथ्र्यो भन्नेमा बहसभन्दा पनि नयाँ बनेको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान दिनुपर्ने बताएका छन् ।
नेता कोइरालाले भनेका छन्, ‘यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।’
उनले लोकतान्त्रिक समाजवादको दियोलाई हिमाल, पहाड र तराई– मधेसमा कांग्रेस नेता र कार्यकर्ताहरुले अनेकन कष्ट, यातना र बलिदान दिएर निभ्न नदिएको विषय नै कांग्रेसको प्रेरणाको स्रोत भएको बताएका छन् ।
‘आज फेरि एकपटक लोकतान्त्रिक इतिहाँसका ति योद्धा, नेता र शहिदहरुलाई सम्झेर कांग्रेसले भावी दिनमा आफ्नो भूमिका तय गर्नुपर्नेछ । हामीसँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय छैन । निश्चय नै विगतमा हामी आम नेपाली दाजुभाइ दिदीबहिनीहरुले गरेको अपेक्षा अनुरुप खरो उत्रिन सकेनौं होला’ उनले भनेका छन् ।
सत्ता र पार्टीको केन्द्रमा को छ भन्ने विषय पनि अब गौण बनेको उनको भनाइ छ । बरू जनताको केन्द्रमा बस्ने अभियानमा कांग्रेस लाग्नुपर्ने भन्दै उनले भनेका छन्, ‘न दाजुको न भाइको, कांग्रेस कांग्रेसजनको’ भनेर अगाडि बढ्नुपर्ने बेला भएको छ ।’
उनले जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउने बताएका छन् । कोइरालाले भनेका छन्, ‘विपी कोइरालाको दिव्यवाणी सम्झौं ‘नेपाल पक्कै ब्यूँझिन्छ जय नेपालको नाराले’ फेरि एकपटक देशभरि यसलाई बुलन्द गरौं ।’
विपीका बुवा कृष्णप्रसाद कोइरालाले सय वर्षभन्दा अगाडि निर्माण गरेको विराटनगरको ‘कोइराला निवास’सँग हजारौं लोकतान्त्रिक योद्धाहरुको भावना जोडिएको बताउँदै उनले अहिले त्यसलाई जलाइएको बताएका छन् ।
उनले आह्वा गर्दै भनेका छन्, ‘कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ । तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न । विपी विचार मर्न सक्तैन । पिताजीको सामाजिक आन्दोलनको विज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन । कोइराला निवासको खरानी विजवाट नुतन कांग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं ।’
भदौ २४ गते जेनजीका नाममा भएको सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड र आगजनिसँगै व्यक्तिको सम्मानमा पु¥याएको पासविक व्यवहार तथा समाजमा फैलाइएको त्रासलाई समाज परिवर्तन भन्न नसकिने उनले बताएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवामाथि भएको हातपातलाई जघन्य अपराध भनेका छन् ।
कोइरालाले विज्ञप्तिमा भनेका छन्, ‘सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास छ । उहाँमाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु । यसको जति निन्दा गरेपनि कम हुन्छ ।’ साथै, उनले युवाहरूमा नेपाली समाजमा परिवर्तनको तीव्र चाहना रहेको पनि बताएका छन् ।