” बारीको कुनामा फल्ने, बजारमा नबिक्ने: त्यतिकै कुहिएर जाने कुभिण्डोको फाइदा “

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

तरकारी, अचार, मिठाई र मस्यौराको रूपमा परिचित कुभिण्डो पछिल्लो समय स्वास्थ्यवर्दक पेयको रूपमा लोकप्रिय बन्न थालेको छ।

 

गर्मीमा शरीरलाई शीतल राख्नेदेखि तौल नियन्त्रण र पाचन प्रणाली सुधार गर्नेसम्मका अनेकौं फाइदाका कारण कुभिण्डोको जुस सेवन गर्नेहरूको संख्या बढ्दो छ। आयुर्वेदमा समेत औषधीय गुणले भरिपूर्ण मानिने यो जुसलाई स्वास्थ्य विज्ञहरूले ‘डिटक्स ड्रिङ्क’ का रूपमा सिफारिस गर्न थालेका छन्।

 

गर्मीयाममा शरीरमा पानीको कमी हुने (डिहाइड्रेसन) समस्या सामान्य हो। स्वास्थ्य विज्ञहरूका अनुसार, कुभिण्डोको रसमा लगभग ९६ प्रतिशत पानीको मात्रा हुने भएकाले यसको सेवनले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। यसको शीतल गुणले शरीरको तापक्रमलाई सन्तुलनमा राख्न र गर्मीबाट बचाउन समेत सहयोग पुर्‍याउँछ।

 

कुभिण्डोको जुसलाई तौल नियन्त्रणका लागि एक उत्तम विकल्प मानिएको छ। यसमा क्यालोरी नगन्य मात्रामा हुन्छ भने फाइबर प्रचुर मात्रामा पाइन्छ। एक आयुर्वेद विज्ञका अनुसार, “कुभिण्डोको रसले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न र शरीरलाई प्राकृतिक रूपमा शुद्धीकरण गर्न मद्दत गर्छ। यसमा पाइने फाइबरले पाचन प्रक्रियालाई सुधार्दै कब्जियत, ग्यास र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ।”

 

यसबाहेक, भिटामिन सी र एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि भूमिका खेल्छ। व्यस्त जीवनशैली र तनावका कारण निद्रा नपर्ने समस्या झेलिरहेकाहरूका लागि पनि यसको नियमित सेवन फाइदाजनक हुने बताइएको छ।

कति र कहिले पिउने ?

स्वास्थ्य विज्ञहरूका अनुसार, कुभिण्डोको जुसको अधिकतम फाइदा लिन यसलाई सही तरिकाले सेवन गर्नु आवश्यक छ। दैनिक १० देखि २० एमएल ताजा जुसलाई एक गिलास पानीमा मिसाएर बिहान खाली पेटमा पिउनु सबैभन्दा प्रभावकारी मानिन्छ।

 

यद्यपि, यसका अनेकौं फाइदा भए तापनि सेवनमा केही सावधानी अपनाउनु जरुरी छ। खाली पेटमा जुस पिउँदा कसैकसैलाई असजिलो महसुस हुन सक्छ। तसर्थ, सुरुमा थोरै मात्राबाट सेवन गर्न र आफ्नो शरीरमा पर्ने प्रभावलाई ध्यान दिन विज्ञहरू सुझाउँछन्। कुनै ग म्भीर स्वास्थ्य समस्या भएका वा नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरूले भने चिकित्सकको सल्लाह लिएर मात्र यसलाई आफ्नो आहारमा समावेश गर्नु बुद्धिमानी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *