१, कार्तिक, काठमाडौं । मदिरा व्यवसायी संघ काठमाडौंको अध्यक्ष रुप तामाङको अध्यक्षतामा “मदिरा व्यवसायी संघ काठमाडौं एप” को सुभारम्भ गरिनुका साथै आउदै गरेको तिहार, नेपाल संवत्, छठ तथा ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम गोकर्ण -५ जम्बुडाडाको सिल्कन पाटी प्यालेश, काठमाडौंमा एक विशेष समारोहका बीच सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले एपको शुभारम्भ गर्दै संघले प्रविधिमैत्री पहल गरेको भन्दै व्यवसायको सुदृढीकरणमा यसले नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मदिरा व्यवसायलाई मर्यादित, पारदर्शी र विश्वासिलो बनाउन संघको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । “यो व्यवसाय आफैंमा चुनौतीपूर्ण छ, तर चुनौतिलाई अवसरमा रूपान्तरण गर्न सक्ने नेतृत्व र दृष्टिकोण हामीसँग छ,” सोनाम शेर्पाले भन्नुभयो । उहाँले आगामी दिनमा व्यवसायीबीच आपसी एकता, सहकार्य र अनुशासनको आवश्यकता रहेको उल्लेख गर्दै दशैं, तिहार, नेपाल संवत्, छठ र ल्होछार पर्वको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथिहरु क्रमशः राम श्रेष्ठ, सरनतोस श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, व्यवसायी हरि सिटौला, मदिरा व्यवसायी संघ ललितपुरका अध्यक्ष हरिहर अधिकारी लगायतको उपस्थिति रहेको थियो । अतिथिहरूले आफ्नो मन्तव्यमा मदिरा व्यवसायलाई आर्थिक क्षेत्रमा योगदान पुर्याउने एउटा महत्वपूर्ण क्षेत्रको रूपमा चित्रण गर्दै यस व्यवसायमा व्यावसायिकता र सामाजिक उत्तरदायित्व दुवै आवश्यक रहेको धारणा व्यक्त गरे ।संघका उपाध्यक्ष बिश्वश्वर प्रसाद आचार्यले पनि मन्तब्य राख्नु भएको थियो। अध्यक्ष तामाङले संघले सुरु गरेको एप व्यवसायीहरूका लागि सहुलियतपूर्ण, पारदर्शी र समयानुकूल कदम भएको बताउँदै यसले सूचना प्रवाह, सदस्यता व्यवस्थापन र बजार अनुगमनलाई सहज बनाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मदिरा व्यवसाय हरेक दृष्टिले चुनौतीपूर्ण क्षेत्र हो, तर हामी सबै व्यवसायी एकजुट भएर अघि बढ्यौं भने यो क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सकिन्छ ।”
उहाँले सरकारले पनि मदिरा व्यवसायीहरूको समस्या समाधानका लागि सहजीकरण गर्नुपर्ने बताउँदै नीति, कर प्रणाली र बजार नियमनमा सुधारको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमा विभिन्न अतिथिहरूले तिहार र अन्य पर्वहरूको शुभकामना दिँदै सांस्कृतिक विविधता र सहअस्तित्वमा आधारित नेपाली समाजको सौन्दर्य झल्काउने देउसी–भैलो प्रस्तुतिहरू समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, विभिन्न जिल्ला शाखाका प्रतिनिधि, व्यवसायी, संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । देउसी–भैलोका माध्यमबाट व्यवसायीबीच आपसी सञ्जाल, एकता र उत्सवको भावना झल्किएको कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।