काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी पूवर्पप्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेकी डा. सुधा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिए ।
तर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि कार्कीको काँधमा अझै ७ मन्त्रालय छन् । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार अझै कार्कीको काँधमा परराष्ट्र, रक्षा, खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका हुन् ।
आइतबारको विस्तारसँग मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । प्रधानमन्त्री कार्कीबाहेक दुई मन्त्रीले तीन÷तीन र एक मन्त्रीले दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने एक मन्त्रीले दुई मन्त्रालय सम्हालेका छन् । बाँकी मन्त्रीले भने एक एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्री अनिलकुमार सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै मन्त्री रामेश्वर खनालले अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
बाँकी मन्त्रीले एकएक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । ओमप्रकाश अर्यालले गृह, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियारले कृषि तथा पशुपक्षी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि, सुधा गौतमले स्वास्थ्य तथा जनसङ्ख्या र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
