राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं ।  राष्ट्र निर्माण दल नेपालको औपचारिक घोषणा  भएको छ । काठमाडौंमा भएको सभाबाट शमिम मियाँ अन्सारी अध्यक्ष, मोहम्मद जाकिर हुसैन महासचिव र गुरुदेव राम सचिवमा चयन भएका छन् ।

 

महासचिव हुसैनका अनुसार बाँकी पदाधिकारीहरू पछि मनोनयन गरिनेछ । नवगठित दलका अध्यक्ष अन्सारी पूर्व नेकपा (एमाले) नेता तथा पूर्व मुस्लिम आयोग अध्यक्ष हुन् । महासचिव हुसैन पूर्व माओवादी नेता तथा पूर्व मन्त्री हुन् भने सचिव राम मधेशी दलित सञ्जालका अध्यक्ष तथा दलित उत्थानका राष्ट्रिय अभियन्ता हुन् ।

 

दल दर्ता २०८२ मंसिर ३ गते भइसकेको जानकारी दिइएको छ । सो अवसरमा ७५ सदस्यीय केन्द्रीय समिति र ३५ जना समानुपातिक उम्मेदवारको नाम पनि सार्वजनिक गरिएको थियो ।

 

सभालाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपालमा नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै शान्ति, विकास र अन्तर्राष्ट्रिय सम्बन्ध दलको प्राथमिकतामा रहने बताए । उनले भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धले नेपालको समृद्धिमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै अब यस सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने धारणा राखे ।

 

दलले राष्ट्रिय हितलाई केन्द्रमा राखी आत्मसम्मानपूर्ण र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिक राष्ट्रिय एजेन्डा बनाउने, राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्ने तथा जात, धर्म, भाषा र क्षेत्रगत विविधतालाई सम्मान गर्दै समावेशी राष्ट्रिय एकता सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

‘सबैको सम्मान, सबैको पहिचान–राष्ट्रिय स्वाधीनता, राष्ट्र निर्माण’ भन्ने नारासहित आत्मनिर्भर अर्थतन्त्र, सुशासन र परिणाममुखी राजनीतिमार्फत स्थायी शान्ति र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ राष्ट्र निर्माण दल नेपाल अघि बढेको नेताहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *