मादुरोलाई आज न्युयोर्कको अदालतमा उपस्थित गराइँदै

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

न्युयोर्क । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ।

यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेस गर्न लागिएको हो।

 

मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ। अमेरिकी समय अनुसार सोमबार दिउँसो १२ बजेमा सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका आरोपहरू पढेर सुनाउनेछन्।

अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागुऔषध तस्करीको मुद्दामा अनुसन्धान गरिरहेको थियो, जसमा मादुरोलाई पछिल्लो ६ वर्षदेखि मुख्य प्रतिवादी बनाइएको छ। यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुनेछ, जसले विगत एक दशकभन्दा लामो समयदेखि यस मामिलालाई हेर्दै आएका छन्।

मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल छ। उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अन्य अभियुक्तसरह नै कानुनी अधिकारहरू पाउनेछन्। यसमा मौन बस्ने अधिकार र भविष्यमा हुने सुनुवाइमा गवाही दिने वा नदिने भन्ने छनोट गर्ने अधिकार समावेश छ।

 

कागजमा यो एक नियमित अदालती हाजिरी जस्तो देखिए पनि यसको भूराजनीतिक र कानुनी महत्त्व ठूलो छ। तर, मादुरो र उनकी श्रीमतीले अमेरिकी अदालती प्रक्रियामा कत्तिको सहयोग गर्छन् वा मौन बस्छन् भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।

 

बिल क्लिन्टनका पालामा नियुक्त भएका अनुभवी न्यायाधीश हेलरस्टिनले यसअघि पनि धेरै ‘हाइ–प्रोफाइल’ मुद्दाहरू हेरिसकेका कारण यो सुनुवाइलाई विश्वभर चासोका साथ हेरिएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *