काठमाडौं । नयाँ वर्ष २०८३ को पावन अवसर तथा ऐतिहासिक बागद्वार मेलालाई लक्षित गर्दै बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बुढानीलकण्ठ नागीगुम्बादेखि बागद्वारसम्मको पदयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा १५०० भन्दा बढी पदयात्रीहरूको सहभागिता रहेको थियो। सो अवसरमा जनप्रतिनिधि एवं १५०० भन्दा धेरै नगरवासीहरुको सक्रिय सहभागितामा भव्य रुपमा पदयात्रा तथा बागद्वार मेला सम्पन्न भयो । पदयात्रामा नगरपालिकाका कर्मचारी, पर्यटनप्रेमी, स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख मिठाराम अधिकारीले नयाँ वर्षको अवसरमा नगरवासीलाई एकताबद्ध गर्दै प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उपप्रमुख अनिता लामाले पदयात्राले समुदायबीच सहकार्य र सद्भाव बढाउनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। उनले स्थानीय तहले जनताको सहभागितामूलक विकासमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आइरहेको र नीति तथा बजेट कार्यक्रममा पनि समावेश गराइएको बताइन्।
कार्यक्रमअन्तर्गत पदयात्रीहरूलाई सहज बनाउन नगरपालिकाले बुढानीलकण्ठबाट नागी गुम्बाको फेदसम्म १८ वटा बसको व्यवस्था गरेको थियो। त्यसपछि सहभागीहरू पैदल यात्रा गर्दै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने नागी गुम्बा हुँदै पवित्र बागद्वारसम्म पुगेका हुन ।
बागद्वार दर्शनपश्चात् सहभागीहरू पुनः बुढानीलकण्ठ फर्किएका थिए। पदयात्रामा सहभागीहरूले प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्था र सांस्कृतिक महत्त्वलाई नजिकबाट अनुभव गर्ने अवसर पाएको बताएका छन्।
शिवपुरी क्षेत्रको हरियाली, शान्त वातावरण र ऐतिहासिक महत्वले यात्रालाई अझै स्मरणीय बनाएको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा सहभागीहरूले स्थानीय तहले यस्ता गतिविधि आयोजना गर्नु पर्यटन प्रवर्द्धन, धार्मिक चेतना अभिवृद्धि तथा जनस्वास्थ्य प्रवर्द्धनका लागि अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।
नगरपालिकाले प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा यस्ता पदयात्रा तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनसँगै बुढानीलकण्ठ क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।