अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक सिरिजअघि नेपालले टेक्सासमा दुई अभ्यास खेल खेल्ने

खेलकुद
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टिम यो साताको अन्त्यमा अमेरिका जाँदैछ। सिरिजअघि नेपालले अमेरिकाको टेक्सासमा दुई वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार नेपाली अलस्टार्सको व्यवस्थापनमा अभ्यास खेल हुनेछ। नेपाली टिम आगामी आइतबार अमेरिका पुग्नेछ।

नेपालले जेठ १९ गते अलस्टार्ससँग पहिलो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपालले दोस्रो अभ्यास खेल जेठ २१ मा हस्टन हरिकेन्ससँग खेल्नेछ। दुवै खेल अमेरिकाको टेक्सासस्थित पियरी भ्यू क्रिकेट कम्प्लेक्समा हुनेछ। यहीँ मैदानमा नेपालले जेठ २५ देखि असार ५ सम्म अमेरिका र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। तीन देशबीचको यो अन्तिम त्रिकोणात्मक सिरिज हो। यसअघि तीन देशसम्मिलिन सिरिज नेपाल र ओमानमा भइसकेको छ। सिरिजमा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे तथा स्थानीय समयअनुसार विहान १०:३० बजे खेल सुरु हुनेछ।

सिरिजमा नेपालले दुवै देशसँग दुई दुई खेल गरी जम्मा चार खेल खेल्नेछ। खेल तालिका
नेपाल भर्सेस ओमान : ९ जुन : राति ९:१५ बजे (नेपाली समयअनुसार)

नेपाल भर्सेस अमेरिका : ११ जुन : राति ९:१५ बजे (नेपाली समयअनुसार)

नेपाल भर्सेस ‌ओमान : १४ जुन : राति ९:१५ बजे (नेपाली समयअनुसार)

नेपाल भर्सेस अमेरिका : १५ जुन : राति ९:१५ बजे (नेपाली समयअनुसार)

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, मोहम्मद आदिल अन्सारी, सोमपाल कामी, करण केसी, विक्रम सोव, किशोर महतो, सागर ढकाल ।

लिग-२ को अंक तालिकामा ओमान ३२ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको स्कटल्यान्डको १६ खेलबाट २४ अंक छ। तेस्रो स्थानमा रहेको युएईको १८ खेलबाट २२ अंक छ। नामिबिया १४ खेलबाट १४ अंक जोड्दै चौथो र अमेरिका १६ खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानको नेपालको १२ खेलबाट १२ अंक छ। पुछारको पिएनजीको २० खेलबाट २ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *