गणतन्त्र भौतिक र मानसिक रुपले संस्थागत भइसकेको छ : प्रदेश प्रमुख परियार

प्रमुख समाचार प्रशासन राजनीति
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र नेपाली जनमानसमा भौतिक र मानसिकरूपले संस्थागत भइसकेको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारद्वारा वीरेन्द्रनगरमा आयोजित १५औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता हरेक नेपालीको मनमनमा स्थापित भइसकेको बताउनुभयो ।

प्रदेश प्रमुख परियारले सङ्घीय लोकतान्त्रि गणतन्त्रात्मक शासन व्यवस्थाबाट प्राप्त उपलब्धिको सदुपयोग गरी संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले गणतन्त्र दिवसले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधिनता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश आमरूपमा महिला, दलित, मधेसी, जनजातिभन्दा पनि पछाडि रहेको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि कर्णालीले सुनको थालमा भिख माग्नुपरेको छ, अथाह सम्भावना भए पनि केही नभएको जस्तो अवस्था छ”, उहाँले भन्नुभयो, “यहाँ पर्याप्त नदीनाला छन्, बहुमूल्य जडीबुटी छन् तैपनि हामीले त्यस्ता मूल्यवान वस्तुलाई उपयोगमा ल्याउन सकेका छैनौँ ।” कर्णालीको विकासका लागि सबै तहका जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले संविधानले नागरिकलाई सामाजिक, राजनीतिक अधिकार दिए पनि कर्तव्य भुल्दै गएको धारणा राख्नुभयो ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले गणतन्त्र शासन प्रणालीमात्र नभई जीवन पद्धतिसमेत भएको बताउनुभयो । उहाँले गणतन्त्र प्राप्तपछि राजनीतिक प्रणाली स्थिर बन्दै गएको, राज्यका संस्थाहरू प्रभावकारितमा वृद्धि आएको, नागरिकमा राष्ट्रभक्तिको भावना बढेको र मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढेको उल्लेख गर्नुभयो ।

समारोहमा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । मङ्गलगढी चोकबाट सुरु भएको प्रभातफेरी तल्लोबजार, गणेशचोक, पिपलचौतारा हुँदै सुर्खेत सभाहलमा पुगेर समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा जनप्रतिनिधि, व्यवसायी, कर्मचारी, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *