श्याम बहादुर श्रेष्ठ पुनः अध्यक्ष, आइडिया नेपालको सर्वसम्मत नेतृत्व चयन

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । आइडिया नेपालको नेतृत्व चयन प्रक्रिया सर्वसम्मत ढंगले सम्पन्न भएको छ । संस्थाले २०८२ भाद्र २१ गते सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति घोषणा गरेको हो । यसअघि भाद्र २० गतेसम्म उम्मेदवारी दर्ता तथा नामावली प्रकाशनको क्रममा कुनै दाबी–विरोध नआएपछि विधान बमोजिम सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका संयोजक बिवेन्द्र भक्त प्रधानाङ्गले साधारण सभाबाट निर्वाचित नयाँ नेतृत्वको अन्तिम नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रियालाई सहज, व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गरे ।

सर्वसम्मत नेतृत्वमा अध्यक्षमा श्याम बहादुर श्रेष्ठ पुनः चयन भएका छन् । दोस्रो कार्यकालका लागि निरन्तरता पाएका अध्यक्ष श्रेष्ठले संस्थालाई अझ सबल, गतिशील र समयसापेक्ष बनाउने प्रतिवद्धता जनाउँदै आफ्नो नेतृत्वमा आइडिया नेपालले सामना गर्ने चुनौतीहरुलाई समाधान गर्दै अघि बढ्ने बताए । उनले संस्थाले सामना गर्दै आएका विभिन्न समस्या र चुनौतीलाई सदस्यहरुसँग हातेमालो गर्दै अवसरमा रूपान्तरण गर्ने विश्वास दिलाए ।

त्यस्तै, उपाध्यक्षमा सुशिल सिवाकोटी र रितेश श्रेष्ठ चयन भएका छन् । महासचिवमा स्मृति रेग्मी, कोषाध्यक्षमा सुशोमित रंजितकार, सचिवमा कुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा जुना भट्टराई निर्वाचित भएका छन् ।

सदस्यहरुमा समिक्षा अग्रवाल, विश्वतम श्रेष्ठ, सायना डंगोल, अशोक महर्जन, रेखा शाही, प्रविन श्रेष्ठ र रेशोन शाक्य निर्वाचित भएका छन् । सर्वसम्मत निर्वाचित नेतृत्वलाई साधारण सभामा उपस्थित सदस्यहरुले स्वागत गर्दै आगामी कार्यकालमा संस्थाको गतिविधि अझ प्रगतिशील र प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन् ।

निर्वाचन समितिले संस्थागत लोकतान्त्रिक अभ्यासलाई उदाहरणीय ढंगले अघि बढाएको भन्दै समस्त पदाधिकारी र सदस्यले पारदर्शी प्रक्रिया र सहज वातावरणका लागि समिति र संयोजकलाई धन्यवाद दिएका छन् ।

यसरी सर्वसम्मत नेतृत्व चयनसँगै आइडिया नेपाल अब संस्थागत सबलता, सदस्यको सहभागिता विस्तार र समाजमा थप उपयोगी योगदान दिने दिशामा अघि बढ्ने विश्वास लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *