कविता : “म दुखेको छु देश दुखेको छ “

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

कृतु भण्डारी

 

पुर्खाले ईतिहास रचेको मेरो देश
अतितका कालखण्डहरुले दिएको
घाउहरुमा खाटा बस्दै गर्दा
समुन्नति तर्फ बामे सर्दै गरेको बेला
मैले रातमा हजार सपनाहरू
कोरलेको देख्छु ।

थकित लाखौ अनुहारहरु
फेरिन नपाउँदै
कलिलो यौवन बली चढेको देख्छु
तब, मनभित्र
एक किसिमको पहिरो जान्छ !!

अहो !
कस्तो विडम्बना
ईतिहासका बिबिध कालखण्डमा
घटित कथित आन्दोलनहरु
स्वर्णिम सपना फुल्ने अभिलाषा
कयौ सपुतहरुको जीवन आहुती
तर, समय सगै तिनका सपनाहरू ।

 

कहि कतै जुठेल्नामा
रछ्यान बनेका छन
घोच्दा नदुख्ने नेपाली छाती भित्र
मेची देखि महाकाली दुखेको छ !!

 

जन्मदिने आमाको छातीमा
घात प्रतिघातका किस्सा कोरेर
उनकै लाम्टा चुसेर हुर्किएका
ठुला ठुला हुलहरु
परिवर्तनको नारा घन्काउदै
स्वर्णिम ईतिहास मेटाएर
कथित नया जेनेरेसनको आडमा
धमिलो पानीमा माछा मार्न खोजिरहेछ
नया ईतिहास रच्ने हवाला दिदै
मातृत्वको अस्तित्व बेच्न
तल्लिन देखिन्छ !!

 

देश बनाउने सपना बोकेर
बर्षौ देखि
जीवनका कयौ बसन्तहरु खर्चेर
राजनीतिमा लागेका
रामविलासहरु
विदेशी एजेन्टको गोटि भइ
ब्यक्तिगत स्वार्थमा लिप्त भए पछि
तानाशाह प्रवृत्ति बोकेर
नेपोटिज्म र नेपो बेबिको
ब्यापार बढे सगै
आफ्नै पहिचान
आफै भित्र खोसिएर
अस्तित्व संकटको आभासमा
बिदेसिएका छन
अनि भौतारिएका छन
युवा देखि बृद्धा सम्म !!

 

वाक पटुताको खेती गरि
आफ्नो भान्सामा
मीठो मसिनो पकाउनेहरु
तिल्मिलाएका छन
अब नलाग्ने भयो
भ्रमको खेती बाली भनेर
अनि जन्मिएको जेन्जेडले
बौलाह रुप देखाएपछी
कहिले नसुध्रीएका
र पोस्टमार्टम नभएका
राजनैतिक अनुहारहरू
उदाङ्गिन थालेका छन
नाङ्गिन थालेका छन बिकृत स्वरुपमा !!

 

भिडमा पनि
एकलाशमा पनि म दुखेको छु
कहिले नझुक्ने
सगरमाथाको मेरो देशमा
मेरो शिर झुकेको छ
मेरो पहिचान झुकेको छ
निचोरिएर मेरो सहनशिल छाती भित्र
यतिवेला साँच्चै देश दुखेको छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *