लाेकनाथ धमला
माधव नेपाल, प्रचण्ड र बामदेव गौतम : नेतृत्वबाट किन हट्न सक्दैनन् ?
क. भूमिका
नेपालको बामपन्थी राजनीतिक इतिहास संघर्ष र बलिदानको कथाले भरिएको सबैसामु घाम जस्तै छर्लङ्ग छ। बामपन्थी कम्युनिस्ट आन्दोलन एउटा मुख्य धारा, जसले जनतालाई अधिकार र परिवर्तनको बाटोमा उभ्याएको छ। यस आन्दोलनलाई दशकौंदेखि दिशा दिने, त्याग गर्ने र निर्णायक घडीमा अगाडि उभिने नेताहरूमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बामदेव गौतमलाई प्रमुख मानिन्छ। आज पनि उनीहरू नेतृत्वबाट सजिलै किन हट्न सक्दैनन् भन्ने प्रश्न केवल व्यक्तिगत नभई समग्र आन्दोलन र देशकै राजनीतिसँग गाँसिएको स्पष्ट रुपमा देखिएको छ।
ख. प्रमुख क्षेत्र
१. ऐतिहासिक योगदान
इतिहासकै ढोका खोलेर हेर्दा यी नेताहरू एक गम्भीर मोडका अपरिहार्य ब्यक्तित्वहरू देखिन्छन्।
माधव नेपालले नेपालको ईतिहासमा कोकेदेखि यहासम्म आईपुग्दा एमालेलाई व्यवस्थित बनाउँदै संसदीय कम्युनिज्मलाई स्थापित गरे।
प्रचण्डले दशक लामो सशस्त्र संघर्षमार्फत शोषणविरुद्धको आवाजलाई राज्यका ढोकासम्म पुर्याए।
बामदेव गौतमले विचार बहस, संगठन सुदृढीकरण र रणनीतिक निर्णयमा ठूला योगदान दिए। यस्तो इतिहासले उनीहरूलाई केवल नेता मात्र होइन, आन्दोलनका धरोहर नै घोषणा गरिदियो र नेकपाको ईतिहासमा अमिट बनाईदियो।
२. संगठनात्मक सञ्जाल र पकड
राजनीति केवल विचारको लडाइँ होइन, संगठनको बलमा पनि टिक्छ। यी नेताहरूले गाउँदेखि केन्द्रसम्म कार्यकर्ता निर्माण गरेका छन्। पार्टी संरचनामा उनीहरूको सञ्जाल गहिरो जरा गाडेर बसेको छ। यस्तो पकड नभएसम्म नयाँ पुस्ताले सजिलै नेतृत्व सम्हाल्न सक्दैन र त्यस्तो परिपक्व ब्यक्तित्व पनि तपाई हामी बिचमा कोहि पनि देखिएको र मनले खाएको कोहि छन जस्तो समाज र नेता-कार्यकर्ता हरूको दृष्टिकोणमा ठोकिए जस्तो लाग्दैन।
३. प्रतीकात्मक उपस्थिती
कम्युनिस्ट आन्दोलन भन्नासाथ जनताको मनमा यी नेताहरूको अनुहार झल्किन्छ। उनीहरू विगतका संघर्ष र वर्तमानका राजनीतिका प्रतीक बनेका छन्। यो प्रतीकात्मक उपस्थितीले नै अझै उनीहरूलाई अपरिहार्य बनाइरहेको छ।
४. अनुभव र विकल्पको कमी
युवा पुस्ता अघि बढ्ने प्रयास गरिरहे पनि राष्ट्रिय स्तरको परिपक्वता, अनुभव र अन्तर्राष्ट्रिय सम्पर्कमा उनीहरू पुराना नेताभन्दा पछाडि छन्। कम्तिमा पनि कोहि कसैको स्थानिय तह, टोल-छिमेक, जिल्ला निर्वाचन क्षेत्र, प्रदेश र शंघ कहिपनि मजबुत देखिदैन। पार्टमा जिम्मेवार केन्द्रीय सदस्यहरु, पोलितब्यूरो र स्थाई कमिटीका नेताहरु चुनावी मैदानमा जान पटक्कै मान्दैनन। नेतृत्वको त्याग, तपस्या र बलिदानीमा प्राप्त मतको आधारमा समानुपातिक प्रणालीमा चाहि पहिलो हुनेमा पहिलो हुन नेतृत्वको चाकरी धुप, नैबेत, चेरी र केहि नलाग्ने भयमा नेतृत्वकै घरको कोठाको सिलिङमा पंखा जुन्ड्याउन निकालेको फलामे हुकमा आत्म दाहसम्मको योजना बनाएर नेतृत्व सताउन पछि पर्दैनन।यी अडान, परिपक्वता र ठोस बिचार र भौगोलिक आधार नभयका पार्टी महाधिवेशनमा रुदै पद माग्ने र पद फिक्स गर्ने अनि स्थाईकमिटि, पोलिटब्यूरो, अनि केन्द्रीय सदस्यहरुमा समेत प्रतिस्पर्धामा पछारिने र पछि रोई-कराई, पासो लगाई, रात-दिन नेतृत्व नछोडि आंखा सुन्यायर टिके पद माग्नेहरूप्रति नेतृत्वको पटक्कै बिस्वास छैन र हालसम्म पनि देखिएको छैन। यही कारण, अझै पनि पार्टी आन्दोलन, संगठन, ल एन्ड अर्डर पुराना नेतामाथि निर्भर रहन बाध्य छ।
५.सत्ता समिकरणमा निर्णायक भूमिका
आजको संसदीय राजनीति सिटहरूको गणितमा अडिएको छ। सरकार बनाउन वा ढाल्न यी नेताहरू निर्णायक छन्। उनीहरू बिना सत्ता समीकरण सजिलै मेल खाने अवस्था छैन। यसले पनि उनीहरूको महत्व घट्न दिएको छैन।
ग. निष्कर्ष
अतः नेपालको कम्युनिस्ट आन्दोलनका यी तीन प्रमुख पात्र-माधव नेपाल, प्रचण्ड र बामदेव गौतम—इतिहास, संगठन, प्रतीक, अनुभव र सत्ता समीकरण सबै कारणले अझै नेतृत्वको केन्द्रमा छन्। तर, समय कहिल्यै रोकिन्न। नयाँ पुस्ता अघि बढ्नै पर्छ र पुराना नेताहरू मार्गदर्शकको भूमिकामा सीमित हुनै पर्छ। यदि पुस्तान्तरण र अनुभवको सन्तुलन मिलाउन सकियो भने मात्रै कम्युनिस्ट आन्दोलन दिगो र सबल बन्नेछ अनि पुस्तान्तरण पनि चाडो हुनेछ।
अस्तु।
पोलिटब्यूरो सदस्य
नेकपा (एकिकृत समाजवादी)