नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

३० असोज, काठमाडौं ।  नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा  हिजो  बुधवार  नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू, संघ–संस्थाका प्रतिनिधिहरू, हस्तकला व्यवसायी, लगानीकर्ता तथा सरोकारवाला निकायका अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साधारण सभामा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा, नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकाल लगायतका अतिथिहरूले देशको हालको आर्थिक अवस्था, निजी क्षेत्रका चुनौती र सम्भावित समाधानका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सचिव डा. रामप्रसाद घिमिरेले हस्तकला क्षेत्र नेपालको पहिचानसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै यसलाई दिगो विकास र रोजगारी सिर्जनाको माध्यमका रूपमा लिनुपर्ने बताए । उनले भने, “हस्तकला क्षेत्रले ग्रामीण जीवनस्तर उकास्न, महिलालाई आत्मनिर्भर बनाउन र नेपालको सांस्कृतिक सम्पदालाई विश्व बजारमा पुर्‍याउन ठूलो भूमिका खेलेको छ । अब सरकार यसलाई औद्योगिक नीतिमा प्राथमिकताका रूपमा अघि सार्ने तयारीमा छ ।”

उनले अहिलेको आर्थिक मन्दीबाट निस्कन सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको औंल्याए । “राज्यले नीति निर्माण गर्छ, तर त्यसलाई कार्यान्वयनमा ल्याउने निजी क्षेत्र हो,” उनले थपे, “त्यसैले अहिलेको अवस्थालाई अवसरको रूपमा लिएर उत्पादन र निर्यातमुखी उद्योगहरूलाई प्रोत्साहन दिनुपर्छ ।”

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले हालको जेनजी आन्दोलन र आर्थिक अस्थिरताका कारण उद्योगीहरू गम्भीर समस्यामा परिरहेको उल्लेख गर्दै तत्काल रिफाइनान्सिङको व्यवस्था गर्नुपर्ने माग गरे । उनले भने, “अहिलेको समस्या सामान्य छैन । उद्योगी उठ्न र उत्पादन बढाउन राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउने नीति ल्याउनुपर्छ ।”

मल्होत्राले देशको पूँजी र दक्ष जनशक्ति दुबै विदेश पलायन भइरहेका कारण उत्पादन प्रणाली कमजोर हुँदै गएको बताएका थिए । “११ लाखभन्दा बढी युवा वैदेशिक रोजगार वा विद्यार्थी भिसामा विदेश गइसकेका छन्,” उनले भने, “यदि सरकारले तुरुन्त कदम चाल्दैन भने अर्थतन्त्र पुनः उभिन कठिन हुनेछ ।”

नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकालले पनि अहिलेको निजी क्षेत्रलाई सहयोग गर्न सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उनले हस्तकला, पर्यटन, लघु तथा मध्यम उद्योगहरू रोजगारीका प्रमुख स्रोत भएकाले यस क्षेत्रमा लगानी आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताए ।

नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले साधारण सभामा संघको विगत एक वर्षको गतिविधि, उपलब्धि र आगामी कार्ययोजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे । उनले हस्तकला क्षेत्र निर्यातको प्रमुख माध्यमको रूपमा अझ सशक्त बनाउन सरकारसँग नीतिगत सहयोग माग गरे । “हस्तकला नेपालको सांस्कृतिक पहिचान हो,” शाक्यले भने, “तर आज उद्योगीहरू उच्च ब्याजदर, बजारको अनिश्चितता र कच्चा पदार्थको अभावमा पीडित छन् । यसलाई सम्बोधन नगरेसम्म यो क्षेत्र टिकाउ हुन सक्दैन ।”

सभामा सहभागी व्यवसायीहरूले पनि कर नीतिमा स्पष्टता, निर्यातका लागि सहजता, उत्पादनमा आत्मनिर्भरता र बजार विस्तारमा सरकारको पहल आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा महासंघका पदाधिकारीहरू, प्रदेश तथा जिल्ला समितिका प्रतिनिधि, हस्तकला उत्पादक, निर्यातकर्ता, र सरोकारवालाले सहभागिता जनाएका थिए । कार्यक्रममा उत्कृष्ट हस्तकला उत्पादक र निर्यातकलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन सत्रमा महासंघका अध्यक्ष शाक्यले सबै सहभागिता र समर्थनकर्तालाई धन्यवाद दिँदै भने, “हामी हस्तकलालाई केवल व्यवसायको रूपमा होइन, नेपालको सांस्कृतिक पहिचान र राष्ट्रिय अर्थतन्त्रको अभिन्न अङ्गका रूपमा प्रवर्द्धन गर्ने अभियानमा निरन्तर लागिरहनेछौं ।”

यससँगै नेपाल हस्तकला महासंघको ४५ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *