नेतृत्व नछाड्ने ओलीको अडान

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरेका छन्।

पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन् ।

त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेका छन् ।

ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार गण्डकी प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए । उनले प्रदेश प्रदेशका इन्चार्ज र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा छुट्टाछुट्टै सम्बोधन गरिरहेका छन् ।

एमालेको सचिवालय बैठक यही असोज २४ र २५ गते बोलाइएको छ। केन्द्रीय कमिटी बैठक २७, २८, २९ गते बस्दैछ।

भर्चुअल सम्बोधनका क्रममा उनले आफू, एमाले र देशविरूद्ध नै षड्यन्त्र भएको बताउँदै भदौ २३ र २४ को जेनजी आन्दोलन षड्यन्त्रकै उपज भएको बताएका थिए।

आफूलाई सत्ताबाट हट्न बाध्य गराइए पनि आफू देश र जनताको पक्षमा अविच्छिन्न हिसाबले क्रियाशील रहेको बताउँदै पार्टी, आन्दोलन, पार्टीका विचार र दृष्टिकोणको शिर झुक्न नदिने उनले बताए ।

उनले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने पनि बताए । उनले भनेका थिए– ‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु ।’

अध्यक्ष ओलीले पार्टीभित्र पुनर्गठन, नेतृत्व हस्तान्तरण, पुस्तान्तरणबारे नचाहिने हल्ला भइरहेको समेत बताए । ती कुरा पार्टीका उपयुक्त फोरममार्फत् निरूपण गरिने पनि उनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *