लेखनाथ सिकारू
मालिकको गद्दी हल्लिँदै थियो,
दासहरू भुइँमा पल्टिएर
“हजुरको कुर्सी बचाओ!” भन्दै
थरथर काँप्दै भक्तिभावको भजन गाउँदै थिए ।
शिर निहुरिएको छैन रे !
तर पेट मालिकको जुत्तामा अड्किएको छ,
घुँडा वर्षौंदेखि टेकेको छ,
अनि मुख खुल्दा शब्द होइन चाकरी झर्छ।
कार्यालयहरू जले,
घामले पनि कालो चस्मा लगायो,
घरहरू खरानी भए, जनता कराए,
तर झोले हाँसे
“यो त बली हो विचारको !”
संविधान कोमामा छ,
लोकतन्त्रको सास हराएको छ,
तर उनीहरू घोषणा गर्छन्
“हजुर, हाम्रो मालिक हाे, देवता हो !”
वालुवाटारबाट हेलिकप्टरमा भाग्नेले
देशको शिर निहुराएको छैन रे !
देश जल्दै छ, जनता रोइरहेका छन्,
तर झोलेहरू उही घण्टी बजाउँदै छन्
“जय बा ! जय मालिक !”
विवेक तिनको गहना होइन बोझ हो,
इमान तिनको भाषामा अपराध हो,
भक्तिभावको नाटक यति घनघोर
कि मालिक पाईखाना गए पनि
उनीहरू भन्छन् “हजुर, यो त नीति हो !”
शिर निहुरिएको छैन रे !
तर आत्मा टेकेको छ दलालको ढाडमा,
विचार मरेको छ, इमान जलेको छ,
अनि अझै गर्जन्छन्
“हामी शिर निहुराउँदैनौं !”
ए झोलेहरू !
तिमीहरू अब झोला होइन,
राष्ट्रको रोग हौ,
जहाँ जनता मर्छ,
त्यहीँ तिमीहरूको जयघोष चल्छ
“हजुरको कुर्सी चिरायुस् होस् !”
देश रगतले रङ्गिएको छ,
तर तिमीहरूको तालमा अझै घण्टी बज्दैछ
“हजुर, हाम्रो शिर निहुरिएको छैन रे !”
हो, निहुरिएको छैन
किनकि त्यो पहिले नै काटिसकिएको छ।