आर्थिक स्थायित्व र सुरक्षाको ग्यारेन्टी अन्तरिम सरकारले गर्नुपर्छ : हेमराज ढकाल

आर्थिक विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका


२९ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले हालको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनका अनुसार देशको अर्थतन्त्र यतिबेला यस्तो मोडमा पुगेको छ जहाँ “भोलि हामीले कर तिरेनौं भने के हुन्छ ?” भन्ने प्रश्न उठ्न थालेको छ ।

ढकालले वर्तमान परिस्थितिलाई विगत तीन दशकको आर्थिक उतारचढावसँग तुलना गर्दै भने, “२०४८ सालमा लगानी गर्ने ठाउँ थियो, वातावरण पनि अनुकूल थियो, आशा र सम्भावनाले भरिएको समय थियो । त्यसपछि देशले माओवादी जनयुद्ध, भूकम्प, कोभिड र अहिले जेन्जी आन्दोलनको प्रभावजस्ता एकपछि अर्को संकटको सामना गर्नुपर्‍यो ।”

उनका अनुसार ती सबै घटनाले अर्थतन्त्रको मेरुदण्ड नै कमजोर बनाइदिएका छन् । “व्यापार विस्तार, औद्योगिक विकास र उत्पादन वृद्धिका सम्भावना घटेका छन् । लगानीकर्तामा विश्वसनीयता गुम्दै गएको छ, बैंकिङ प्रणालीमाथि पनि दबाब छ,” ढकालले भने ।

ढकालले अहिलेको अवस्थाबाट देशलाई निकास दिन अन्तरिम सरकारले निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । “यो सरकार अस्थायी भए पनि देश स्थायित्वको दिशामा अग्रसर हुनुपर्छ । आर्थिक स्थायित्व र सुरक्षा दुवैको ग्यारेन्टी सरकारले दिन सक्नुपर्छ,” उनले जोड दिए ।

उनले थपे, “अन्तरिम सरकारले सबै राजनीतिक दललाई सहमतिमा ल्याएर निर्धारित समयमा निर्वाचन गराउनु जरुरी छ । राजनीतिक अनिश्चितता नै आर्थिक अस्थिरताको मूल कारण हो । जबसम्म सहमति र साझा दृष्टिकोण बन्न सक्दैन, लगानी, उत्पादन र रोजगारीका अवसरहरू पुनर्जीवित हुँदैनन् ।”

ढकालका अनुसार अहिलेको प्राथमिकता राजनीतिक स्थायित्व र विश्वास पुनःस्थापना हुनु हो । “यदि हामीले अहिले पनि नसोचौं भने उत्पादनशील क्षेत्र ध्वस्त हुन्छ, कर राजस्व घट्छ, र राज्य सञ्चालनमा गम्भीर संकट आउँछ । अर्थतन्त्रलाई बचाउन सबै तहका नेतृत्व जिम्मेवार हुनुपर्छ,” उनले चेतावनी दिए ।

उनी भन्छन्, “यो देशमा अवसर हराएको छैन, तर भरोसा हराउँदै गएको छ । सरकार र निजी क्षेत्रबीच सहकार्य बिना अर्थतन्त्र उठ्नेवाला छैन । अहिले बोल्ने होइन, काम गरेर देखाउने समय हो ।”

ढकालले अन्त्यमा भने, “हाम्रो सुरक्षाको ग्यारेन्टी अन्तरिम सरकारले गर्नुपर्छ — राजनीतिक, आर्थिक र सामाजिक तीनै मोर्चामा स्थायित्व कायम गर्न सके मात्र देश पुनःस्थापना र विकासको बाटोमा फर्कनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *