२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति श्रद्धेय नेता पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको अवसरमा देशभरबाट शुभकामनाका संदेशहरू प्राप्त भइरहेका छन्। यसै क्रममा प्याब्सनका उपाध्यक्ष रबिन्स शर्माले पनि कार्यवाहक सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएका नेता खड्कालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उपाध्यक्ष शर्माले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश दिँदै नेपाली कांग्रेस देशको लोकतान्त्रिक इतिहाससँग अभिन्न रूपमा जोडिएको पार्टी भएको उल्लेख गर्दै पार्टीलाई एकता, अनुशासन र संगठन सुदृढीकरणको बाटोमा अघि बढाउन नेता खड्काको नेतृत्व सक्षम र दृढ रहने विश्वास व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “नेपाली कांग्रेसका उपसभापति श्रद्धेय नेता पूर्णबहादुर खड्काज्यूलाई नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी प्राप्त भएकोमा उहाँको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।”
नेता खड्का नेपाली कांग्रेसभित्र अनुभवी, संयमी र व्यावहारिक राजनीतिज्ञका रूपमा परिचित छन्। उनले विगतमा पार्टी संगठन सुदृढीकरणदेखि राज्यका विभिन्न तहमा जिम्मेवारीपूर्वक नेतृत्व प्रदान गर्दै आएका छन्। अहिले पार्टीभित्र नेतृत्व संक्रमणको संवेदनशील समयमा कार्यवाहक सभापतिको जिम्मेवारी पाउनु उनको दीर्घ राजनीतिक यात्राको निरन्तरता र नेतृत्व क्षमताको प्रमाणका रूपमा लिइएको छ।

प्याब्सन उपाध्यक्ष शर्माले विश्वास व्यक्त गर्दै भनेका छन्, “खड्काज्यूको नेतृत्वमा पार्टीभित्र सहमति, सामूहिक निर्णय र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा अझ प्रगति हुनेछ, जसले सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई सशक्त सन्देश दिनेछ।”
नेपाली कांग्रेसभित्र वर्तमान राजनीतिक परिस्थिति र संगठनात्मक चुनौतीका बीच नेता खड्काको कार्यकाल पार्टी एकता र स्थायित्वको दिशामा सशक्त कदम सावित हुने अपेक्षा गरिएको छ।