काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै छ ।
आज बिहान ११ बजेपछि काठमाडौँमा बस्ने स्थायी कमिटी बैठकले भोलि बस्ने गरी बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
त्यसबाहेक अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने पार्टी नेताहरूले बताएका छन् ।
सो पार्टीको एघारौँ सचिवालय बैठक असोज २४ र २६ गते बसेको थियो । बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबिच संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको थियो ।
बैठकले वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई चाँडो निष्कर्षमा वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको थियो ।