श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

१ ,कार्तिक, काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन भयको छ । शुक्रबार ,  सेलिब्रेसन हाईट्स,सुकेधारास्थित काठमाडौंमा यस लिमिटेडका  अध्यक्ष  अनुप कुमार उपाध्यायको अध्यक्षतामा साधारण सभा सम्पन भयको हो ।  सभा बिहान ११:०० बजे सुरु भई निर्धारित एजेण्डा अनुसार सम्पन्न भएको थियो । सभामा कम्पनीका सञ्चालक, शेयरधनी, लगानीकर्ता, लेखापरीक्षक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप र ओखलढुङ्गा  जिल्लाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग गरी २८.९ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् । तल्लो लिखु जलविद्युत आयोजना बाट उत्पादित विद्युत २०७९ साल कार्तिक १९ गते देखि राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भइरहेको छ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी विस्तृत छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ । सो प्रतिवेदनमा गत आर्थिक वर्षमा कम्पनीले गरेका गतिविधिहरू, आगामी योजनाहरू र कम्पनीको समग्र प्रगतिको समीक्षा गरिएको थियो ।

त्यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ साल आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा(नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बन्धित सबै अनुसूचीहरू पनि सभाले छलफल गरी पारित गरेको छ । सभामा कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको र आगामी वर्षमा ऊर्जा उत्पादन तथा निर्माण क्षेत्रमा थप लगानी विस्तार गर्ने योजना प्रस्तुत गरिएको जानकारी दिइयो ।

लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र सोको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । साथै, कम्पनीको सुशासन र पारदर्शिता कायम राख्ने उद्देश्यले एक जना स्वतन्त्र सञ्चालक मीरा थपलियालाई  नियुक्ति पनि गरिएको छ ।

यसैगरी, कम्पनीका शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको निर्वाचन पनि सम्पन्न भएको छ, जसमा एक जना महिला सञ्चालक शान्ती निरौला र क्रमशः अनुप कुमार  उपाध्याय,डा.सुवर्ण दास श्रेष्ठ ,जयन्त कुमार  रेग्मी   समेत निर्वाचित भएका  छन् । नव–निर्वाचित सञ्चालकहरूले कम्पनीको व्यवस्थापन, पारदर्शिता र लगानी विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले हाइड्रोपावर उत्पादनमा हालसम्मका उपलब्धिहरू र आगामी वर्षका लक्ष्यहरूबारे जानकारी गराएका थिए । उनले कम्पनीले दक्ष जनशक्ति, प्रविधि र लगानी संयोजनमार्फत ऊर्जा क्षेत्रमा थप योगदान दिने विश्वास व्यक्त गरे ।

सभामा कम्पनीका शेयरधनी, सञ्चालक, लेखापरीक्षक, कर्मचारी तथा आमन्त्रित अतिथिहरूको उपस्थिती रहेको थियो । अन्त्यमा कम्पनीका अध्यक्ष अनुप कुमार उपाध्यायले सभामा सहभागिता जनाएका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र पारदर्शी ढंगले कम्पनीको कार्य सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।                                         यससँगै श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा  सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *