काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै ‘मोन्था’ चक्रवातको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने र देशका विभिन्न जिल्ला भइ बहने नदी तथा खोलामा बाढी आउने सम्भावना उच्च रहेको भन्दै सतर्क रहन भनेको हो । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूको बहाव आगामी ३ दिनसम्म बढ्दो क्रममा रहने छ ।
आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि शुक्रबार कोसी, मधेस र बागमती प्रदेश भई बहने केही ससाना नदीमा बहाब आकस्मिक बढ्ने अनुमान बाढी महाशाखाले गरेको छ । यसैगरी शनिबार पनि कोसी, मधेस र बागमती प्रदेश भई बहने केही ससाना नदीहरूमा बहाब आकस्मिक बढ्न सक्ने र शनिबारै अपराह्नदेखि यस प्रणाली कमजोर हुने र नदीमा बहाब क्रमशः घट्दै जाने अनुमान रहेको बाढी महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउन तथा सम्भावित बाढीबाट बच्नका लागि आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सचेत गराएको छ ।
