काठमाडौं । मधेस प्रदेशमा भएको नयाँ सरकार गठनप्रति मुख्यमन्त्रीकै दल नेकपा (एमाले) कै नेताहरू अचम्मित भएका छन् ।
मुख्यमन्त्री नियुक्तिबारे प्रदेशमा सांसदहरु अनभिज्ञ रहेको एमाले प्रमुख सचेतक हरिनारायण महतोले बताए ।
ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा उनले असन्तुष्टी व्यक्त गरे ।
दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनको सम्भावना जीवितै रहेकाले ३ मा नजान दलका नेता यादवलाई प्रमुख सचेतक हरिनारायण महतोले सचेत समेत गराएका थिए । तर संविधानको १६८ को उपधारा ३ बमोजिम नै एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रमुख सचेतक महतोले ‘नहुनुपर्ने घटना’ भएको उनले बताए ।
उनले भने, ‘यिनीहरुले भित्रभित्रै षड्यन्त्र गरेर, के कहाँबाट परिचालित भएर, हामीलाई कुनै जानकारी नगराई राति साढे ४ बजे बर्दिबास कालापानीको पानस होटेलमा गएर शपथ लिए ।’
आज बिहान उपचारका लागि भन्दै निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबास नगरपालिका–३ स्थित पानस होटेलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।
यस विषयमा एमालेकै कतिपय सांसद बेखबर छन् ।
मधेश प्रदेश सभामा एमालेका सभामुखसहित २५ सांसद छन् । जसमा एकजना निलम्वित छन् ।