काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले तवामपन्थी शक्तिहरूबीचको एकता अभियानले देशको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताएका छन्।
सह-संयोजक नेपालले यसबाट आत्तिएका केही शक्तिहरूको ‘होस-हवास’ नै गुमेको टिप्पणी गरे। उनले गालीगलौजमा उत्रिनुको सट्टा कम्युनिष्ट आन्दोलनलाई सच्याउने अभियानमा लागेकोमा आफूहरूलाई धन्यवाद दिन विपक्षीहरूलाई आग्रह गरे। विशेषगरि उनकाे कटाक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित थियो।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित नेता डा. भीम रावलको समूहलाई पार्टीमा स्वागत गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै सह-संयोजक नेपालले भने, ‘यो एकताको अभियानले नेपालको राजनीतिमा तरंग पैदा गरेको छ। कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरूको त सातो गएको हुनुपर्छ, उनीहरूको होस-हवास नै गुम भएको हुनुपर्छ।’
उनले आलोचना गर्नेहरूलाई लक्षित गर्दै भने, ‘होस गुमाउनु आवश्यक छैन, गालीगलौजमा उत्रिनु पनि आवश्यक छैन। बरु हामीलाई धन्यवाद दिनुहोस्। मैले त बिगारेँ, तपाईंहरूले सपार्दै हुनुहुन्छ भनेर धन्यवाद प्रस्ताव पास गरे हुन्छ।’
नेता नेपालले विगतका गल्तीहरूबाट पाठ सिक्दै नयाँ पार्टीलाई विकृति र विसंगतिबाट मुक्त राख्नुपर्नेमा जोड दिए। उनले २०७५ जेठ ३ गते भएको तत्कालीन नेकपाको एकता ऐतिहासिक भए पनि त्यसलाई जोगाउन नसकिएको तितो यथार्थ स्वीकार गरे।
‘एकता गर्न सजिलो छ, तर त्यसलाई बलियो बनाउन धेरै कुरामा विचार पुर्याउनुपर्छ,’ उनले भने।
पार्टी र नेताहरूमा देखिने विकृतिमाथि निर्मम समीक्षा हुनुपर्ने बताउँदै उनले भने, ‘यदि हामीले आफूलाई सुधारेनौँ भने नयाँ बोतलमा पुरानो रक्सी भन्ने भनाइ दोहोरिन बेर लाग्दैन।’
नेता नेपालले भने, ‘२०७५ साल जेठ ३ गते दुईवटा पार्टी मिलेर नेकपा गठन गरिएको थियो । दुई पार्टी मिल्ने निश्चित भएपछि २०७४ को चुनावमा झण्डै दुईतिहाइ मत जनताले दिएका थिए त्यो संकेत कम्युनिष्ट एकैठाउँ बसुन् भन्ने हो ।’ नेपालले नेपाली कम्युनिष्ट पार्टी गठन हुँदै गर्दा केही कम्युनिष्ट पार्टीका नेतालाई चिन्ता परेको भन्दै नवगठित पार्टीका नेताहरूले विगतका गल्ती कमजोरी सच्चाउँदै नयाँ क्रान्तिकारी आचरण बोकेको पार्टी निर्माण अभियानमा जुटेको बताए । ‘कमजोरी छन् भने सुधार्ने संकल्प गरौँ’, नेपालले भने।, ‘संकल्प गरेर व्यवहारमा देखाउनुभयो भने तपाईंले ठूलो योगदान गर्दै जानुहुने छ । तर, पुरानै कुराको पुनरावृत्ति गर्नुभयो भने कुनै मूल्य रहने छैन ।’
उनले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई धन्यवाद दिए । ‘एकताको प्रक्रिया अघि बढिरहेको छ। एकताको यो अभियान अघि बढिरहेको छ। एकताको यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। नेपालले नेकपाको एकता अभियान नरोकिने पनि बताएका छन् ।