काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्ने क्रममा उनले भने ‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अगाडि बढेका छौं कि छैनौं,’ अध्यक्ष नेपालले भने, ‘हामीलाई एक पटक तपाईंले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमानदारीताको राजनीति, देशभक्तिको भावनालाई, देशप्रेमको भावना र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका खेल्दै पनि आएका छौं ।’
जनचाहनालाई साकार पार्नका लागि इमानदारीका साथ अघि बढ्नेछौँ । हामीलाई एकपटक मौका दिनुस्, आजसम्म इमानदारीको राजनीतिलाई, देशभक्तिको भावनालाई, जनताका सेवाको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेको छौँ । आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ । उनले गणतन्त्र स्थापना, संविधान निर्माण र लोकतान्त्रिक अभ्यासमा पार्टीले खेलेको भूमिकाको निष्पक्ष मूल्यांकन गर्न अनुरोध गरे ।
राम्रो कामको प्रशंसा र कमजोरीको आलोचना स्वीकार र सच्याउन तयार रहेको पनि उनले बताए । जेनजी पुस्ताको भावना सुशासन कायम र भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रवृत्तिको विपक्षमा रहेजस्तै नेकपाका नेताहरूले पनि विगत लामो समयदेखि यस्तै प्रवृत्तिविरुद्ध जुध्दै आएको बताए । त्यसका लागि हामीले तत्कालीन सरकारका प्रमुखलाई मागपत्र बुझाएका छौँ । सुशासनको पक्षमा आवाज बुलन्द गरेका छौँ”, उनले भने, -त्यस कारण आज जेन-जी पुस्ताका साथीहरू नेकपामा समाहित भइरहनुभएको छ, नेकपाप्रति गरेको त्यो विश्वासलाई कुठाराघात हुन दिँदैनौँ ।
नेपालले भने ‘अघि तपाईंहरूले सुन्नुपनि भयो, देशमा गणतन्त्र ल्याउने कुराको सन्दर्भमा होस्, त्यसअघि निर्दली भूमिका फाल्ने सन्दर्भ, संविधान ल्याउने सन्दर्भ, लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने सन्दर्भ, या देशको विकास गर्ने योजनालाई अघि बढाउने सन्दर्भमा होस् हामी चुनौतीको साथ भन्छौं, हामीले खेलेको भूमिकाको एक एक मूल्यांकन गर्नुस् । राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहुन्छ भने हामी स्वीकार गर्न पनि तयार छौं,’ ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आफ्नो पार्टीका नेताहरूले खेलेको भूमिकाको मूल्यांकन गर्न पनि उनले आग्रह गरे ।
उनले एकताको सन्देश लिएर गाउँ गाउँमा जान कार्यकर्ताहरूलाई आग्रह समेत गरे । अहिले आफ्नो विचारलाई जनताको बिचमा लिएर गइरहेको बताउँदै उनले नयाँ नेपाल निर्माण गर्ने आफूहरूको अभियान रहेको बताए ।
सह-संयोजक नेपालले अहिले ७७ वटै जिल्ला र स्थानीय तहमा कार्यक्रमहरू भइरहेको बताउँदै पार्टीभित्र मौलाइरहेको खतरनाक प्रवृतिको पनि आलोचना गरे । उनले नेता बन्ने तर जनताका बिचमा नजाने प्रवृत्तिलाई छुट दिन नसकिने समेत बताए ।