जनताको भरोसा, विश्वास र सेवामै आफ्नो राजनीतिक जीवन केन्द्रित छ :प्रेम आले

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले जनताको सेवाभन्दा ठुलो सम्मान संसारमा अरु केही नभएको बताउनु भएको छ । उहाँले जनताको भरोसा, विश्वास र सेवामै आफ्नो राजनीतिक जीवन केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

 

कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ मा आयोजित वडा भेला, बैठक तथा सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता आलेले सो कुरा बताउनु भएको हो । कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेता आलेले भन्नुभयो, “जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन । जनताकै भरोसाले म यहाँसम्म आइपुगेको हुँ । अब पनि समाजको समग्र विकास, जनताको जीवनस्तर उकास्ने र समृद्ध कैलाली निर्माणका लागि म निरन्तर काम गर्नेछु ।” उहाँले कैलाली जिल्लाको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पर्यटन तथा रोजगारीका क्षेत्रमा प्राथमिकताका साथ योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराइसक्नुभएका नेता आलेले चुनावी प्रतिबद्धताअन्तर्गत कैलाली जिल्लाको समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउनु भएको छ । उहाँले विगतमा विभिन्न जिम्मेवारीमा रहँदा गरेका कामहरूको अनुभवलाई अब कैलालीको विकासमा प्रयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

 

कार्यक्रमका क्रममा नेता आलेले पार्टी संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष संवाद र स्थानीय समस्याको समाधानमा केन्द्रित भएर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले जनताको सुझाव र गुनासोलाई नीति तथा कार्यक्रममा समेट्दै अघि बढ्ने विश्वास दिलाउनुभयो ।

 

नेता आलेका स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार नेता आलेले माघ १०, ११ र १२ गते धनगढी उपमहानगरपालिकाका वडा नम्बर १-१९ तथा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ मा वडा भेला, बैठक तथा सम्पर्क कार्यालयको उद्घाटन सम्पन्न गरिसक्नुभएको छ । ती कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

 

नेता आले यसअघि डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि तीन पटक निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । पार्टीको निर्णय अनुसार यस पटक उहाँ कैलाली क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धामा होमिनुभएको हो । उहाँको उम्मेदवारीले कैलालीको राजनीति थप सक्रिय र प्रतिस्पर्धी बनेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

 

स्थानीयवासीहरूले पनि अनुभवी र विकासप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको भन्दै नेता आलेप्रति भरोसा व्यक्त गरेका छन् । आगामी निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा चुनावी माहोल थप तातेको देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *