काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडिका प्रयास सफल भए देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्ने र देश नै नरहरने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका हुन् ।
सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने गरी अबको बाटो तय गरिनुपर्ने उनको भनाइ छ।
राज्यका महत्वपूर्ण अंगहरू जलाउनु, जनताले वर्षौं लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा निर्वाचित जनप्रतिनिधिमूलक थलो संसद भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देशका लागि दुर्भाग्य हुने राउतले बताएका छन्।
‘राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौं,’ उनको भनाइ छ।
उनले ठूलो बलिदानपछि प्राप्त गणतन्त्र जस्तो सुकै परिस्थितिमा रक्षा गर्न तयार रहन अपिल गरेका छन्।
‘दशकौंको आन्दोलन र बलिदानीपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तो सुकै परिस्थितिमा हामी रक्षा गर्न तैयार रहनुपर्छ। केही पात्रहरूले जतिसुकै दुश्प्रचार गरे पनि यो देशको अस्तित्वको रक्षाको लागि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्नै पर्छ,’ जेनजी पुस्तालाई सम्बोधन गर्दै उनले अगाडि भनेका छन्, ‘यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद् भंग गर्नु भयो भने अर्को १० वर्ष तपाईंहरू संविधान बनाउन अल्झिनु हुनेछ, काम गर्ने वातावरण बन्ने छैन। त्यो ‘प्यानडोराज बक्स’ हो। त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्लाई नै कायम रहन दिई निर्वाचन गराउनेतिर लाग्नु पर्दछ उनको भनाइ छ।।