काठमाडौँ । दशैं नजिकिँदै जाँदा राजधानीबाट घर फर्किनेको चहलपहल दिनानुदिन बढ्दै गएको छ । नयाँ बसपार्कसहितका प्रमुख बस स्टेशन्हरूमा यात्रुहरूको भीड देखिन थालेको छ । काम, पढाइ र रोजगारीका कारण राजधानीमा बस्दै आएका मानिसहरू महान् चाड दशैं आफ्ना परिवारसँग मनाउन गाउँतर्फ फर्किन थालेका हुन् ।
यातायात व्यवसायीहरूले यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ अझै खुला गरेका छैनन् । अग्रिम बुकिङ नखुल्दा यात्रुहरू घटस्थापनाअगावै घर फर्किन थालेको देखिएको छ । सामान्यतया फूलपातीदेखि टीका सम्म यात्रुको चाप उच्च हुने भए पनि यस वर्ष विशेषगरी जेन९जी आन्दोलनका कारण राजनीतिक अस्थिरता बढेको र विद्यालय–क्याम्पस समयमै विदा भएकोले मानिसहरू समयमै घर जान थालेका हुन् ।
गएका वर्षहरूमा यातायात व्यवसायीहरूले यात्रुलाई सजिलो होस् भनेर अग्रिम टिकट बुकिङ खुलाउने परम्परा बनाएको भए पनि यसपटक त्यसरी सुविधा उपलब्ध नभएकाले यात्रुहरू बाध्यतावश पहिले नै घरतर्फ लागेका छन् ।
ट्राफिक प्रहरीका अनुसार फूलपातीको दिनदेखि यात्रु बाहिरिने संख्या झनै बढ्ने अनुमान गरिएको छ । यस वर्ष दशैंको टीका असोज १६ गते पर्ने भएकाले राजधानीबाट बाहिरिने यात्रुको चाप अझै बढ्ने निश्चित देखिन्छ । यात्रुको भीड व्यवस्थापनका लागि प्रहरी र सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ ।