नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर र आदर्श किरणको सक्रिय राजनीतिमा पूर्णविराम

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

ठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर तथा संघर्षशील व्यक्तित्व मोहन वैद्य ‘किरण’ले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । गत वर्ष मंसिर २३ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत् निर्वाचित किरणले स्वास्थ्यका कारण देखाउँदै शनिबार राति पदबाट राजीनामा दिए ।

 

काठमाडौँको कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा प्रत्यक्ष सहभागी नभएका उनले भर्चुअल माध्यमबाट आफ्नो राजीनामा दिएको घोषणा गरे । बैठकले किरणको राजीनामा स्वीकृत गरी वरिष्ठ नेता सीपी गजुरेललाई महासचिवमा नियुक्त गरेको छ ।

पछिल्लो समय निमोनिया र दमको रोगबाट पीडित रहेका किरणले स्वास्थ्यका कारण देखाउँदै राजीनामा दिएको नेता हुकुम सिंहले बताए । सिंहका अनुसार किरण आगामी दिनमा पार्टी नेतृत्वमा नरहे पनि वैचारिक, सैद्धान्तिक मार्गदर्शक बनेर संरक्षकको भूमिकामा रहनेछन् ।

उमेरले ७९ वर्ष पार गरेका किरण वैशाख २४ गते आमा जानकीदेवी उपाध्यायको निधनपछि गृहजिल्ला दाङ पुगेका बेला बिरामी परेका थिए । जेठको दोस्रो हप्ता दम र निमोनिया समेतबाट गम्भीर बिरामी परेका उनी २२ दिन शिक्षण अस्पताल महाराजगञ्जको आइसीयूमा भर्ना भएका थिए । महासचिव पदबाट राजीनामा दिएसँगै किरणको सक्रिय राजनीतिमा पूर्णविराम लागेको छ ।

नेकपा (माओवादी)ले २०५२ सालमा घोषणा गरेको जनयुद्धका मुख्य योजनाकार रहेका किरण २०६२/६३ सालको जनआन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापना भएसँगै शान्तिपूर्ण राजनीतिमा आएका हुन् । माओवादी शक्तिकै कारण नेपालमा गणतन्त्र सम्भव भएको थियो । जनयुद्धको प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । किरण प्रचण्डका गुरु, प्रमुख सल्लाहकार र समग्र युद्धको निर्देशकको भूमिकामा देखिए ।

किरणले राजनीतिमा मात्र शिखर आरोहण गरेनन्, नेपाली भाषा साहित्यका क्षेत्रमा पनि ‘चैत्यन्न’ नामले चम्किरहे । किरण शास्त्रीय मार्क्सवादी व्याख्याकार, सौन्दर्यशास्त्री तथा दार्शनिक व्यक्तिको रूपमा चिनिन्छन् । उनले कहिल्यै पनि लाभको पदमा बसेर काम गरेनन् ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधान सभा सदस्य रहेका उनले ६ महिना नपुग्दै राजीनामा दिए । नेपाली कम्युनिस्ट आन्दोलनमा ६ दशक सक्रिय किरणले नेपालमा जनवादी सत्ता स्थापना गरी वैज्ञानिक समाजवादमा पुग्ने सपना अझै जीवित राखेका छन् ।

शारीरिक अवस्था र स्वास्थ्यको कारण पार्टीको जिम्मेवारी निर्वाह गर्न नसक्ने भएँ । मेरो राजीनामा स्वीकृत गरिदिनोस् । कम्युनिस्ट आन्दोलन र पार्टीको कार्यदिशा पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरूबिच मोर्चाबन्दी बनाएर अगाडि बढ्नोस्’, किरणको भनाइ उद्धृत गर्दै नेता इन्द्र राउतले रातोपाटीसँग भने ।

पार्टीको सक्रिय राजनीतिबाट उनी बिदा भए पनि वैचारिक, सैद्धान्तिक मार्गदर्शक तथा संरक्षकको भूमिकामा रहने राउतले बताए । त्यसका लागि निर्देशक समिति बनाउने विषयमा स्थायी समितिले निर्णय गर्ने उनको भनाइ छ ।

शान्ति प्रक्रियामा आएपछि अध्यक्ष प्रचण्डसँग वैचारिक कार्यदिशामा मतभेद हुँदा २०६९ साल असारमा किरण माओवादीबाट अलग भएका थिए । किरणले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गरी नेकपा–माओवादी बनाए । २०७३ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह अलग भएपछि उनले नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का अध्यक्षका रूपमा आफूलाई उभ्याए । गत वर्ष महाधिवेशनले विधान संशोधन गरी महासचिव प्रणाली अबलम्बन गरेको थियो ।

बुवा शशीधर र आमा जानुकाका सात भाइ छोरा र एउटी छोरीमध्ये किरण जेठा छोरा थिए । उनको जन्म २००३ साल साउन १५ गते प्युठानको खैरा गाउँमा भएको थियो । किरणको वास्तविक थर पोखरेल भए पनि उनका पुर्खाले तत्कालीन राजा रजौटाहरूको औषधिमुलोसहित वैद्यको काम गरेकाले थर परिवर्तन भएको उनले बताएका छन् । किरणका ठुलो परिवार भएकाले जतिसुकै घोटिए पनि यिनीहरूलाई खान लाउन धौधौ नै थियो ।

उनी बाल्यकालमा पूर्ण धार्मिक रीतिरिवाजमा हुर्किएका थिए । राजा त्रिभुवनको स्वर्गारोहण हुँदा आफूले कपाल पनि खौरेका उनले स्मरण गरेका थिए ।

किशोर अवस्थामा प्रवेशसँगै किरणभित्र नेपाली संस्कृति, रीतिरिवाज, परम्परा भनेका अन्धविश्वास हुन् भन्ने भावना उत्पन्न भएको थियो । त्यतिबेला गाउँ समाजमा देखिएका सबै खाले अन्धविश्वास तोड्दै आए उनले । बाल्यकालमा तत्कालीन कांग्रेस र कम्युनिस्टलाई घृणा गर्ने किरण युवा अवस्थामा पुगेपछि पुष्पलालबाट प्रेरित भए । मोहनविक्रम सिंह र निर्मल लामा उनका आदर्श थिए । सोही आदर्श पछ्याउँदै किरण १८ वर्षको उमेरदेखि कम्युनिस्ट पार्टीमा सक्रिय भए ।

किरणले दाङको जनता महाविद्यालयबाट शास्त्री अध्ययन गरे । साथै उनले त्रिभुवन विश्वविद्यालयबाट २०२८ सालमा नेपाली विषयमा एमए उत्तीर्ण गरे । किरणले लामो समय प्राध्यापनको साथसाथै प्रधानाध्यापक भई काम गरे ।

किरणको विवाह २०३१ साल असोज ७ गते अर्घाखाँचीकी सुषमा आचार्यसँग भएको थियो । उनका छोरा कपिलको २०३८ सालमा निधन भएको थियो । उनका छोरी लता, चेतना, सिर्जना हुन् । किरण अहिले धापासीको सूर्यदर्शन हाइटमा श्रीमती सुषमासँगै बस्दै आएका छन् ।

२०२५ सालमा उनी पहिलोपटक जेल परेका थिए । माओवादी जनयुद्धकालमा भारतको दार्जिलिङ जिल्लाको सिलगुढीमा किरण पक्राउ परेका थिए । त्यहाँ झन्डै तीन वर्ष बिताएका उनी नेपालमा गणतन्त्र स्थापना भएपछि छुटेका थिए । २०४० सालमा नेकपा मशाल विभाजन भएपछि मोटो मशालका महामन्त्री बनेका किरण २०४३ सालमा चर्चित सेक्टर काण्ड असफल भएपछि नैतिकताका आधारमा पद त्याग गरे ।

२०४५ सालमा उनले प्रचण्डलाई महामन्त्रीमा प्रस्ताव गरे । प्रचण्डकै नेतृत्वमा जनयुद्धमा उनी होमिए । कम्युनिस्ट आदर्शबाट अविचलित किरण निष्ठा र सिद्धान्तको राजनीतिमा सक्रिय रहे । उनले सक्रिय जीवनकालमा कम्युनिस्ट आन्दोलनमा आँच आउने काम कहिल्यै गरेनन् ।

नेपाली कम्युनिस्ट आन्दोलनका जिउँदो इतिहास किरणले दलाल पुँजीवादविरुद्ध निरन्तर संघर्ष आवश्यक रहेको रातोपाटीसँग कुराकानीको क्रममा बताएका थिए ।

‘कुनै जमानाका क्रान्तिहरू अर्को जमानामा गएर बिग्रिन्छन् । अवसरवादी हुन्छन् । माओवादी भनेको सोलोडोलो एउटै हो, बदमास हो भन्ने कुरा पनि भएन’, उनले भनेका थिए, ‘उनीहरूले जतिसुकै विकास र समृद्धिका कुरा गरे पनि पुरानो राज्यसत्ता छ । साम्राज्यवादी नवउदारवादको नीति सबैले पक्रेका छन् । त्यसैले यो संसदीय व्यवस्थाको अन्त्य जरुरी छ । पुरानो राज्यसत्ताको अन्त्य जरुरी छ । दलाल पुँजीवाद अन्त्य गर्न निरन्तर क्रान्ति आवश्यक छ ।’

किरण वामपन्थी राजनीतिबाहेक स्कुले जीवनदेखि नै आफूलाई सिर्जनामा सक्रिय रहे । उनी साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमालको लेखबाट प्रभावित थिए । किरणको २०१९ साल, २०२८ सालमा बनारसबाट प्रकाशित ‘सुमन’ र ‘सन्देश’ पत्रिकामा विभिन्न लेख रचना छापिएको थियो ।

राजनीतिमा प्रवेश भएपछि उनले मार्क्स, लेनिन, माओका जीवनी, उनीहरूले लेखेका किताब बढ्न थाले । मार्क्सवादको कला र सौन्दर्यको चिन्तनबाट किरण निकै प्रभावित थिए ।

किरणका लाहुरेको रहर (खण्डकाव्य : २०३७), मार्क्सवादी कला दृष्टि र समीक्षा (समालोचना : २०५४), संघर्षको दर्शन (दर्शन विषयक समालोचना : २०६०), नेपाली समाज र संस्कृति (इतिहास : २०६१), क्रान्ति र सौन्दर्य (समालोचना : २०६४), समीक्षा र सौन्दर्य (समालोचना : २०६५), मार्क्सवाद र संस्कृति (प्रबन्ध : २०६६), मार्क्सवादी दर्शन (दर्शनशास्त्र : २०६७), मार्क्सवादी सौन्दर्य चिन्तन (समालोचना : २०६९) र हिमाली दर्शन (दर्शनशास्त्र :  २०७४) चर्चित कृति प्रकाशित छन् ।

सादा जीवन र सरल जीवन शैलीमा सिङ्गो जीवन गुजारेका उनी अहिले पनि अध्ययन तथा लेखनमा सक्रिय छन् ।

राताेपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *