सीता ओझा
तिहार विशेषगरी हिन्दु,हिन्दु सम्प्रदायभित्रका बुद्ध धर्मावलम्बीहरूको विशेष चाड हो । दशैको लगत्तै आउने यो पर्व दशैंपछिको महत्त्वपूर्ण पर्व मानिन्छ । यो पर्व कार्त्तिक कृष्ण पक्षको त्रयोदशीको दिन कागको पुजा गर्दै सुरू हुन्छ र कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका गरेर सम्पन्न हुन्छ । तिहार पर्वको समय पाँच दिन भएकोले / मनाइने कारण यसलाई यमपञ्चकको नामाकरण गरिएको हो ।
यी पाँच दिन मनाइने पर्वले नेपालमा कृषि,पशु र मानवीय सम्बन्धको महत्त्व बढाउदै विशेषगरी विवाहपछिका दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई प्रगाढ बनाउन महत्त्वपुर्ण भुमिका खेलेको देखिन्छ । दिप,फुल, लक्ष्मी पुजाका लागि चाहिने कृषि जन्य बस्तु,भेटघाट र विशेष परिकार सहित मसला दिने परम्परा स्वस्थ्य जीवन र आफ्नो उत्पादित कृषिजन्य वस्तुको प्रयोगसँग पनि जोडिएको देखिन्छ । दिप र पर्यावरणीय पक्षको मानवीय सम्बन्धभित्र सुख,शान्ति ,ऐश्वर्य र सम्पुर्णताको प्राप्तिको लागि दिवालीलाई जोडिएको छ ।
तिहार हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। विशेषगरी भारतीयहरूले यसलाई दीपावली/ दिवाली भन्ने गर्छन् ।
धार्मिक ऐतिहासिकताभित्र कहलाएको कथन अनुसार – यमराजले विवाहित आफ्नी बहिनी यमुनाका घरमै गएरर टीका ग्रहणको विषय पनि जोडिएको छ । यस्तो विषयले विवाहित सम्बन्धको कारण दिदीबहिनी र दाजुभाइविचको रक्त सम्बन्धको महत्त्व,पारिवारिक सम्बन्ध र दिदीबहिनीको विवाहित घरको अवस्था र स्थानमान सहितको सम्मानको विषयलाई पनि महत्त्वपूर्ण मानिएको देखिन्छ । यस्तो आवतजावतले रक्त र भावनात्मक दुबै सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ भन्ने सामाजिक महत्त्व झल्कन्छ ।
पारिवारिक महत्त्वको हिसाबले गृहस्थको सुख र दुखको कारण बनाएर एकै पेटका सन्तान लिङ्गको हिसाबले गरिएको पारिवारिक व्यवस्थापनले दाजुभाइले दिदीबहिनी विर्सनु हुन्न भन्ने संकेत स्वरूप – यमराज आफ्नी बहिनीको घरमा गए र तिहारका पाँचै दिन बसेको कारण यी पाँच दिनलाई यमपञ्चक भनिएको देखाइएको छ ।
कुनै समय यही दिन धन्वन्तरीको जन्म भएको र उसले समाजमा धन / वस्तुको प्राप्तिको विषयलाई / अर्थतन्त्र/ मानवीय आवश्यकता र वस्तुको विनिमयको विषयको महत्त्वलाई जोडेको कारण धन्वन्तरी जयन्ती वा धनतेरस उत्सव मनाउने प्रचलन पनि यसैमा जोडिएको देखिन्छ ।
यहि दिन साँझ घरको मूलद्वारको सामु यमराज सम्झना गर्दै दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने सामाजिक विश्वास जोडिएको छ । यस्ता पर्वहरूको सुरूवातले कतिपय सामाजिकआर्थिक व्यवस्थापनसँग जोडिएरू आगका थिए होला तर कालान्तरमा कतिपय विषयहरू अन्धविश्वाससँगै जोडिएका कारण सामाजिक विकासमा बाधा बन्न पुगे ।
यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन,स्वयम् र दाजुभाइ र दिदीबहिनीको पुजा, भेटघाटलाई रमाइलो बनाउन पिङ खेल्ने,दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी लगायतका परिकार पकाउने र खुवाउने र रमाइलो गर्ने पर्व तिहारलाई मनिन्छ । तिहारपर्वको ऐतिहासिक सन्दर्भले ” हरेकको घरमा कहिलै अपमृत्यु वा अल्पमृत्यु नहोस् भन्ने चाहाना र मान्यता झल्काउन खोजेको छ !”
तिहारमा खेलिने भैली र देउसीका सन्दर्भमा धेरै किंवदन्ती दानवराज बलिसँग सम्बन्धित पाइन्छन् । देउसी भैली गाउने र पाए नगद नपाए अन्न र खाने कुराको दान लिएर फर्कने प्रसङ्गको विषयको थालनी विशेषगरी पौरत्स्य ( हिन्दु र कृषिसँग जोडिएको ) मिथक कालान्तरमा जुम्ली राजा बलि र मगर राजा बलिहाङसँग जोडिएको जस्तो देखिन्छ । देउसीको प्रसङ्ग जुम्लाको खस राज्यकालकामा आर्थिक विकासको विषयसँग जोडिएर देउसी खेल्ने परम्परा शुरू गरेको मान्यता पाइन्छ । यो प्रसङ्गसँग जुम्ली राजा बलिराज कल्याल , तैमुरको र मुसलमानहरूको आक्रमणसँग जोडिएको इतिहास भेटिन्छ ।
१४औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेका थिए । यिनकै शासनकालमा जुम्लाको खस राज्यले एक कुख्यात मुसलमान लडाकुको फौजसँग सामना गर्न परेको थियो ।युद्धपछि जनताबाट कर उठाउन बलिराजले देउसी भैलो खेल्न लगाएको विषय केही इतिहासविद्हरूले लेखेको प्रसङ्ग यहाँ जोडिन पुग्छ ।
ती आक्रमणहरू १४ औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेपछि भएका थिए भन्ने विषयको तथ्यमा इतिहासविदहरू सहमत छन् । युद्धसँग जोडिएको एउटा प्रसङ्ग
” युद्धमा हारेर जसरी म भुइँमा छु त्यसरी नै म पनि उसलाई भुइँमा पुर्याउन / भुइँमा पुगेको हेर्न चाहान्छु ! उसलाई भुइँमा पुर्याउँदा म मारिन्छु भन्ने मलाई चिन्ता छैन ! म सँग युद्ध गर्न उ एक्लैले सक्दैन भने उसका साथमा अरू दश जना लिएर आए पनि हुन्छ ”
भनेर सुनाए । उनको कुरा सुनेर आक्रमणकारी राजा नै छक्क पर्यो । प्रस्तुतिको प्रभावले उसलाई निकै बहादुर ठान्यो,घोडाबाट ओर्लियो र अंकमाल गर्यो र मीत लगायो ।
त्यो समय मुसलमानहरूको आक्रमणले देशको अर्थ व्यवस्था थिलथलो भएको समय थियो । राजाको वाक चातुर्यताले युद्ध त रोकीयो ! आक्रमण गर्न आएको शत्रु मित्र बन्यो । मीत लगाएपछि मितको सम्बन्धसँग जोडिएको खानपिन र भलाकुसारी त भयो तर विदाइको खर्च व्यवस्थापन गर्न कठिनाइ परेकोले बलिराजले आफ्ना सेना र नागरिकलाई राज्यभर देउसी खेलेर पैसा जम्मा गर्न लगाए । यसरी जम्मा भएको नगदसहित मीतज्यूलाई विदा गरेको प्रसङ्ग निकै महत्त्वपूर्ण तथ्यको रूपमा इतिहासमा पढ्न पाइन्छ ।
तैमुरसँग जोडिएको जफरनामा’ मा आधारित पुस्तकका लेखिएको विषयका अनुवादकले यस्तो लेखेको भेटिन्छ –
“शिवालिक पहाडको मुनि ठूलो संख्यामा अधर्मीहरू जम्मा भएका छन् भन्ने मैले सुनें ।
… मैले आफ्ना सैनिकलाई त्यतैतिर लाग्ने आदेश दिएँ । तीमध्ये एउटा पहाडी उपत्यकामा बहरूज नामका एकजना राई थिए । उनको सेनाको संख्या र साँघुरो उपत्यकामा बलियो भू-बनोटका कारण हिनहिन्दुस्थानमै उत्कृष्ट थिए ।
इतिहासको तथ्य
संस्कृतमा “गौ ” को अर्थ माता/ गाई हुन्छ । गौ,गोवर्धन, गोकुल, गोपाल यी शव्दमाही बेलाको समाजमा गाईलाई माता र पशु चौपायालाई धनको रूपमा हेरिन्थ्यो । आफुलाई कल्याण गर्ने कारणले पशु मध्ये मानिसको बहुहितसँग जोडिएका पशुलाई पुज्ने संस्कृतिको विकास भयो । मानव समुदायको विकास घुमन्ते,शिकार, पशुपालन, कृषि हुदै सव्यताको विकाससँग जोडिएको छ । विस्तारै मानिस विकासले सूचनाको महत्त्व बुझ्यो । अनुभव र भोगाइका कारण चराहरूको आवाजबाट सुचनाको सहयोग लिन र दिन,शुभ र अशुभ संकेतको पहिचान गर्ने प्रचलन विकास गरे । त्यसैको अवशेषको रूपमा रुखमा बसेर कागले कराउने ध्वनिको आधारमा शुभ र अशुभ समाचार मान्ने सामाजिक मान्यता/ परम्परा अहिलेसम्म छदैछ । काग काराएपछि सुवोल सुवोल, भन्ने प्रचलन पनि समाजमा अझै छ । काग बहुपक्षबाट चलाख र पन्छीहरूमा हङ्गामा मचाएर काम सिद्ध गर्ने चरा हो । काग सर्वभक्षी भएकोले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरु खाइदिने पन्छी र यमराजको यमदूतकापालको रूपमा पनि लिने गरिन्छ । यसरी विश्लेषण गर्दा काग यमराजको अति प्रिय भक्तको रूपमा चिनिन्छ । यस्तै कारण काग पनि पुज्य बन्न पुग्यो ।
शिकारी युगमा शिकार खेल्नका लागि कुकुरको प्रयोग मानिसले गर्थे । कुकुरको सुन्ने शक्ति बढी र निदाउन तेज हुन्छ । कुकुरलाई आज्ञाकारी जनावारको मोदी मानिन्छ । मानिसको शिकारी जीवनदेखि कुकुरले सुँघेर धेरै कुरा पत्ता लगाइ दिन्थ्यो । त्यो बेलाका युद्धमा कुकुरकै सहारा लिने गरिन्थ्यो ।त्यहीँ कारण युद्ध कला र अपराध पत्ता लगाउने सहायकका रूपमा कुकुर मानिससँग नजिक भयो र पुजनीय बन्यो ।
आर्थिकसामाजिक महत्त्व
तिहारको सांस्कृतिक पक्ष जस्तै: सामाजिकआर्थिक पक्ष पनि जोडिएको छ । मोहनजोदाडो,हरपा र सिन्दु सव्यताबाट छरिएका मानिसहरू मध्ये नेपाल र भारत,भुटान,बर्मा लगायत दक्षिण एसियाका अधिकाँस मानिस कृषिसँग जोडिएका छन् । कृषिसँग जोडिएका देशहरू,बर्मा आदि बहु- ईश्वरवादी देखिन्छन् । यहाँका मानिसहरू आध्यात्मिकतासँग जोडिएर धर्म र सम्प्रदायमा बाँडिएको देखिन्छ ।हिन्दु होस या बौद्ध धर्मसँग मानिसहरू जोडिँदै आधुनिक समाजको विश्वव्यापी करणमा जोडिए र सबैको पर्वहरू व्यवसायीकताको पर्व पनि बनेको देखिन्छ ।
प्रायः सव्यताको विकास नदी र नदीको किनारसँग जोडिएको छ र हुन्छ ।त्यसरी जोडिनुसँग मानविय जीवनको दैनिकी साँझ विहानको खानपिन र उत्पादनसँग जोडिएको छ र हो पनि । हिजोको समाज कृषि र पशुपालनसँग जोडिएको थियो र अहिलेसम्म नै त्यो परम्परा कायम छ । आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवम् उमङ्गको सीमा हुँदैन। त्यो खुशीको अवसरमा ऊ आफ्नो उत्पादन र प्राप्तिलाई भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। केही समय अघि दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहारदुवैमा महिलाको शक्तिका विभिन्न रुपहरूको पूजा-आराधना गर्दै मातृशक्तिको रूपमा महिलाको यौनिकता,पराक्रमको अस्तित्व र धनधान्यसँग जोडिदिएर सम्मान र भक्ति देखाउन खोजेको छ । यसभित्र अन्य प्रसङ्गहरू पनि जोडिन्छन ।
तिहारमा काग,कुकुर,गोबर्धन,भाँडाकुँडा,धन, सम्पत्तिकी देवी लक्ष्मी,म्ह: पुजा तथा आफुले भोगचलन गरेको जमीन र लगाएको अन्न समेतको पुजा गरिन्छ । विषेशगरि तराईतिर धन र उत्पादनसँग जोडिएका सम्पुर्ण ठाउँमा पुजा गर्ने,दिप प्रज्वलन गर्ने,खेतवारीमा पुग्ने,अनाजलाई छुने आदि गरिन्छ र खेतवारीमा गएर अन्न र जमिनको पुकार गीत गाउने चलन पनि छ । यस्ता पर्व र विशेषताहरू फरकफरक विशेषज्ञता बोकेर भए पनि दक्षिण एसियन देशमा धेरै मिल्ने प्रकृतिमा जोडिएका छन् ।यो सिन्धु ,मोहनजोदाडो र हरपा सव्यताको प्रभाव र आफ्नो वर्षभरिको दुख सुखले भित्रियोस् भन्ने उद्देश्य राखिएको हो भन्नुपर्दछ ।
वैज्ञानिक आधारहरू
तिहार पर्व मानव विकास र विस्तारसँग जोडिएको सांस्कृतिक पर्व हो । यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्त्व देखिन्छन त्यो भन्दा बढी वैज्ञानिक महत्त्व देखा पर्दछन्। जस्तो चराहरू वातावरण सन्तुलनका प्रतीक हुन्। बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई सहयोग पुर्याउछन्।अप्रत्यक्षरूपमा उनीहरूले मौसम सन्तुलनको दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराहरू र उनीहरूका वासस्थानप्रति इमानदार हुनुपर्दछ भन्ने विषयसँग जोडछ । त्यस्तै कुकुरको स्वामीभक्तिप्रतिको बफादारीता संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति सबैले कुकुरले जत्तिकै इमानदार हुनु पर्दछ भन्ने सन्देश छर्न खोजेको छ । मातृशक्तिको रूपमा गाईबाट दूधदेखि मलमूत्र र हलो तान्ने वहर दिएर मानिसको जीवन बचाउने कारण पुजा गरिएको हुनु पर्दछ । पहाडपर्वतले हरियाली, औषधी,जीउन चाहिने आवश्यक वस्तुहरूले अक्सिजन दिएर सम्पुर्ण प्राणीको प्राण बचाउने गरेको कारण गाई, गोरु र गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति इमानदार हुनुपर्छ भन्ने सिकाउन गरेको हुनुपर्दछ ।
नेपाल बाहिरको तिहार
भारत
तिहारलाई भारतमा दीपावलीको नामले मनाइन्छ।उत्सवको रूपमा रूपमा भारतका विभिन्न स्थानहरूमा मेला लाग्छन्। दीपावली एक दिनको पर्व नभएर पर्वहरूको समूह हो दिप जलाउने,फुलमालाले घर,मन्दिर र व्यवसायीक स्थान सजाउने,पटका पड्काउने आदि गरिन्छ।प्रायः दशैं पछि दीपावलीको तैयारी सुरू हुन्छ । दीपावलीको दुइ दिन पहिला त्रयोदशीका दिन धनतेरस मनाइन्छ। प्रायः तिहारमा भाँडा/ गहना किन्ने गरिन्छ । त्यो धनतेरसका दिन हो । धनतेरस नजाने पनि त्यसदिन भाँडाहरू किन्नु शुभ मानिन्छ र किन्ने गर्छन् ।
बेलायत
नेपाल र भारत बाहिर सबैभन्दा धूमधामले तिहार बनाउने देश बेलायत हो । बेलायतको लेचेस्टर सहरमा हिन्दुको बाक्लो उपस्थिति छ । त्यहाँ हिन्दु, सिख र अन्य धर्मका मानिसहरू मिलेर तिहार मनाउने गर्छन् ।तिहारमा मानिसहरू दियो र पटका पट्काएर रमाइलो गर्ने गर्छन् । तिहारको दिन मानिसहरू पार्क र बाटोमा समूह बनाएर पटका पट्काउने गर्छन । साथै, आफन्त र साथीभाईबीच मिठाइ पनि बाँढिन्छ ।
थाइल्याण्ड
थाइल्याण्डमा तिहारलाई लाम क्रियोग्घको नामबाट मनाइने गरिन्छ । केराको पातबाट निर्मित बत्ति र धूप रातको समयमा बालिन्छ । बलिरहेको बत्तिमा पैसा राखेर नदीमा बगाइन्छ र रमाइलो गरिन्छ ।
स्कटल्याण्ड
प्रत्यक वर्ष जनवरीको अन्तिम मंगलबार लेर्विकमा एक प्रकाशोत्सवको आयोजना गरिन्छ । जसलाई हेली आ भनिन्छ । यो बास्तबमा तिहारकै एक रुप हो । यस कार्यक्रममा मानिसहरू प्राचिन समुन्द्री लडाकु जस्तै कपडा लगाएर हातमा मसाल लिएर जुलूस निकाल्छन् । सो समय पूरा सहर उज्यालोमय हुन्छ ।
जापान
प्रत्यक वर्षको जनवरी महिनामा जापानमा ओनियो फेयर फेस्टिवल मनाइने गरिन्छ । फुकुओका सहरकमा तिहारको जस्तै प्रकाशमय वातावरणमा चाड मनाइन्छ । सो अवसरमा कठिन परिस्थितिको अन्त्यको प्रतिकको रूपमा मसाल जलाईन्छ । खास गरी सेतो कपडा पहिरेर जापनीजहरूले मसाल र्याली मन्दिरबाट सुरु गरिन्छ ।
क्यानडा
क्यानडाको न्यूफाउन्ड ल्याण्डमा नोभेम्बर ५ का दिन तिहारको जस्तै एक चाड मनाइन्छ । अंग्रेज र आइरिस सुखद जीवनको खोजीमा क्यानडा आएको सम्झनामा आताशवाजी गर्ने गरिन्छ । साथै, सहरको घर तथा पसलहरूमा रंग रोधनगरि चिटिक्क पारिन्छ ।
तिहारसँग जोडिएका धेरै प्रसङ्गहरू छन् तर सारमा माथिका विषयको प्रसङ्ग अध्ययनमा परेको र इतिहाससँग जोडिएको देखिन्छ ।