काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई सबै राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित देउसी-भैलो कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष नेपालले संविधान संशोधनमार्फत सङ्घीयतालाई थप परिष्कृत र सुदृढ गर्न सकिने बताउँदै यसका लागि व्यापक राजनीतिक छलफल आवश्यक रहेको औँल्याए । उनले सबै राजनीतिक दल र नेताहरूलाई एकै नजरले नहेर्न आग्रह गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणप्रति विगतको सरकार गम्भीर नहुँदा युवाहरू सडक आन्दोलनमा उत्रनुपरेको र त्यस क्रममा दुखद् घटना भएको उल्लेख गरे ।
उनले जेनजी आन्दोलनमा भएको घुसपैठको गहन छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरे । साथै, आन्दोलनका क्रममा गोली चलाउने कार्यको निन्दा गर्दै त्यसको पनि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । संविधान र गणतन्त्रमाथि आँच पुग्ने कुनै पनि कार्य कसैबाट हुन नहुने उनको भनाइ छ ।