नेपाल लिबरल पार्टी गठनको घोषणा, आर्थिक उदारवाद र सुशासन मुख्य एजेन्डा

प्रमुख समाचार राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

११ कार्तिक, काठमाडौं । आर्थिक समृद्धि र व्यक्तिगत स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै नयाँ राजनीतिक शक्ति नेपाल लिबरल पार्टी’ गठन गरिएको छ । डा. गोपिलाल न्यौपानेको सभापतित्वमा आज काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत पार्टी गठनको घोषणा गरिएको हो ।

कार्यक्रममा सभापति डा. न्यौपानेले देशमा दीर्घकालीन आर्थिक सुधार र नागरिक स्वतन्त्रताको सुनिश्चितता गर्ने उद्देश्यसहित पार्टी गठन गरिएको बताए । उनले भने, “नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास र बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न र सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न हामी अघि बढेका छौं ।”

डा. न्यौपानेका अनुसार पार्टीको दीर्घ लक्ष्य आर्थिक उदारवादमार्फत नेपालको समृद्ध भविष्य निर्माण गर्नु हो । उनले थपे, “राज्यको अत्यधिक नियन्त्रण र राजनीतिक जटिलताले जनताको क्षमता कुन्ठित बनाएको छ । अब हामी खुला बजार, कर–कटौती, र उत्तरदायी प्रशासनमार्फत विकासको नयाँ मोड खोल्नेछौं ।”

कार्यक्रममा पार्टीका महासचिव डा. सुशील पौडेलले पार्टीको नीति तथा दृष्टिकोण प्रस्तुत गर्दै भने, “नेपाल लिबरल पार्टीले उदारवादी अर्थव्यवस्था, पारदर्शिता, पारस्परिक सम्मान, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण र नैतिक राजनीतिलाई आफ्नो मूल मूल्यका रूपमा लिएको छ ।”

डा. पौडेलले विश्वव्यापीकरणको युगमा नेपालले आत्मनिर्भर र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्न उदार आर्थिक सोच नै आवश्यक रहेको उल्लेख गरे । उनले भने, “हामी आयात–आश्रित अर्थतन्त्रबाट उत्पादनमुखी उद्यमशील राष्ट्रतर्फ अघि बढ्नेछौं ।”

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, युवा उद्यमी, शिक्षाविद् र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले नयाँ पार्टीले नेपालको राजनीतिमा वैकल्पिक सोच र व्यावहारिक दृष्टिकोण ल्याउने अपेक्षा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *