प्रिय भीड
भीडको सागरमा हराइरहेको छु,
अनगिन्ती टाउका, असंख्य नजर,
अफसोच !
कुनै पनि अनुहार मस्तिष्कले ठम्याउन सक्तैन ।
गुञ्जिरहेको छ शहर,
कोलाहल र चिच्याहटको कारुणिक आवाजमा
जीवन ठूलो नदीबीचको भूमरीमा घुमिरहेछ बेस्सरी
मन भूमरीबीचको ‘ब्ल्याक होल’ जस्तै अन्धकार छ ।
उभ्याउँदा पनि आफूलाई भीडको सागरमा
घेरिरहेको छ एक्लोपनको त्रासले,
जसरी अनकन्टार जंगलबीचमा उम्रिएको उत्तिस
डगमगाउँछ निर्धक्क फुल्नलाई ।
कसैको आवाज तरंगित भई गुन्जिन्छ कानसम्म
तर अर्थ हराउँछ यो कोलाहलमा,
जसरी सागरको गर्जनले
सानो लहरको कम्पन दबाउँछ ।
भीडसँगै बगिरहेछु म,
तर पनि यात्रा मेरो आफ्नै बाटोमा हिँडिरहेछ
भीडले थिचिए पनि,
मनले स्वतन्त्रताको खोजी गरिरहेछ ।
भीडको सागरमा हराएको मान्छे हुँ म
खोक्रो शरीर छ,
आवाज हराइरहेछ,
आँखा रित्तिरहेछ,
तर पनि,
कसैका सुन्ने कान वा देख्ने आँखा छैनन् मलाई यहाँ ।
प्रिय भीड,
असन्तुलित चालका छायाहरू,
हर कोही आफैँलाई मात्र खोज्दै,
अरूको पीडा देख्दैनन्,
अरूको कथा बुझ्दैनन् ।
मान्छे होइन,
हृदयविहीन शरीरहरू जस्ता,
मौन भीड,
तर आफ्नै अस्तित्वमाथि चिच्याइरहेका ।
यस भीडभित्र म
आफ्नो आत्मा बचाउन लडिरहेछु,
मरिसकेको संवेदना
पुनः जगाउन खोजिरहेछु ।
प्रिय भीड,
जहाँ मानिसहरू छन्,
तर मानवीयता हराइसकेको छ ।
जमुना क्षेत्री
इटहरी