नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्छ यो एकता रणनीतिक होइन: प्रचण्ड

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति हुने बताएका छन्। उनले नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति हुनबाट अब कसैले रोक्न नसक्ने पनि बताए।

भीम रावल लगायतलाई बुधबार नेपाली कम्युनिष्ट पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले भने -‘अस्ति १० पार्टीको ऐतिहासिक हो है यो एकता भनेको थिएँ, यसलाई पहिलो पार्टी बन्नबाट रोक्न सकिँदैन। सक्दैन कसैले भनेको थिएँ, आज यो एकीकरण र समायोजनले त्यो भनाइलाई थप पुष्टि गर्ने आधार दिएको छ,’

राष्ट्रको आवश्यकता र जेनजी विद्रोहको समीक्षाका आधारमा एकता भएकोभन्दै उनले ‘यो एकता कुनै ट्याक्टीकल एकता होइन । त्यसरी नबुझिदिनुहोला । राष्ट्र बचाउनका लागि एकता भएको हो । अर्को जेनजी विद्रोहले नेपाली समाजमा राम्रोसँग घच्घचायो’, उनले भने, ‘त्यस विद्रोहले आफूलाई सच्याउने, आफैलाई समीक्षा गर्ने स्थितिमा आइपुग्यो । जेनजी युवाहरूले सुशासन, नेतृत्वको रूपान्तरणको पक्षमा विद्रोह नगरेको भए यो एकता यति छिनो हुने थिएन । त्यसकालागि म ती जेनजी युवालाई धन्यवाद दिन चाहन्छु । यो एकता दीर्घकालीन रणनीति र कम्युनिस्ट एकतालाई टिकाइराख्ने उद्देश्यले भएको हो ।’

उनले अघिल्लो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच भएको एकता केपी ओलीको अहङ्कार र दम्भले विघटन भएको आरोप लगाए ।

प्रचण्डले विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको हुन नसक्ने बताए । एमालेको वर्तमान नेतृत्वले मदन भण्डारीलाई बदनाम र अपमान गरिरहेको बताए।

‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोसिस गरिरहेको छ,’ ‘प्रचण्ड’ले भने, ‘पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी जीवनसंगिनी विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारीको ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे। यो भन्दा अपमान अरू हुन सक्छ ?’

उनले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन आह्वान पनि गरे। ‘विद्यालाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुन सक्दैन,’ उनले थपे, ‘एमालेभित्रका इमानदार, देशभक्त, वामपन्थीहरूलाई म आह्वान गर्छु, इतिहासको यति ठूलो धोका महसुस गर्नुभएकै होला। तपाईँहरूसमेत विशाल शक्ति निर्माण गर्ने महान् उद्देश्यसहित यो एकता अघि बढाइएको हो। यो एकीकरण प्रक्रियामा सबै सामेल होऔँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *