‘नेपाली नागरिक समाज’ गठन: नागरिक अधिकार र सुशासनका मुद्दामा कृष्ण बहादुर खड्का संयोजक

राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नागरिकका हकहित, सशक्तीकरण, सामाजिक न्याय, सुशासन र अधिकारका सवालमा संगठित रुपमा आवाज उठाउने उद्देश्यसहित ‘नेपाली नागरिक समाज’ नामक नयाँ अभियान गठन गरिएको छ। राजधानीमा बसेको व्यापक नागरिक भेलाले विभिन्न क्षेत्रमा सक्रिय अभियन्ता कृष्ण बहादुर खड्कालाई सर्वसम्मत रूपमा संयोजकमा मनोनयन गरेको छ।

घोषणासभामा संयोजक खड्काले संस्था कुनै पनि राजनीतिक प्रभाव वा दवावभन्दा स्वतन्त्र रहँदै नागरिक सरोकारका विषयमा स्पष्ट, तथ्याधारित र निरन्तर आवाज उठाउने संगठनका रूपमा अघि बढ्ने बताए। उनका अनुसार सरकारका निकायहरूमा हुने गतिविधि, निर्णय प्रक्रिया र स्रोतको उपयोगबारे नियमित निगरानी र सार्वजनिक दबाब सिर्जना गर्दै समाजले उत्तरदायित्वमूलक शासन प्रवर्द्धनमा काम गर्नेछ।

खड्काको प्रतिबद्धता: भ्रष्टाचारविरुद्ध कडा पहरदारी

संयोजक खड्काले सामाजिक न्याय र समावेशितालाई मुख्य एजेन्डाका रूपमा अघि सार्दै, सीमान्तकृत समुदायका हकहित संरक्षण तथा आवाज सुदृढ गर्न समाज सक्रिय रूपमा उभिने बताए।
उनका अनुसार:

युवालाई नेतृत्वमा ल्याउने र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन

नागरिक शिक्षाद्वारा संविधानमा निहित हक–कर्तव्यबारे जागरण

सार्वजनिक निकायको पारदर्शिता सुनिश्चित गर्न निरन्तर दबाब

यस्ता कार्यक्रमहरू प्रारम्भिक प्राथमिकतामा परेका छन्।

नयाँ अभियानले नागरिक चेतनामा ‘नयाँ ऊर्जा’ ल्याउने विश्वास

घोषणासभामा उपस्थित नागरिक अगुवा तथा अभियन्ताहरूले नेपालमा नागरिक चेतना र जिम्मेवार शासन अभ्यास सुदृढ गर्न यो अभियान महत्वपूर्ण मोड बन्न सक्ने धारणा व्यक्त गरे।
उनीहरूको भनाइमा, खड्काको नेतृत्वमा भ्रष्टाचार, दुरुपयोग, अव्यवस्था र प्रशासनिक कमजोरीविरुद्ध ठोस पहरदारी हुने अपेक्षा छ।

सातै प्रदेशमा संगठन विस्तार

समाजले निकट भविष्यमा सातै प्रदेशमा संगठन विस्तार गर्दै स्थानीय तहसम्म नागरिक संवाद, सहभागिता र जागरण अभियान संचालन गर्ने योजना सार्वजनिक गरेको छ।
यो कदमले मुलुकमा बढ्दो नागरिक सक्रियतामा नयाँ गति र संरचनागत प्रभाव थप्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *