नयाँ दिल्ली (भारत) — भारतीय दलित साहित्य अकादमीद्वारा आयोजित दुईदिने ४१औँ राष्ट्रिय दलित साहित्यकार सम्मेलन २०२५ डिसेम्बर १२ र १३ तारिखमा भारतको नयाँ दिल्लीस्थित झरौडा गाउको पञ्चशील आश्रममा भव्य रूपमा सम्पन्न भएको छ। उक्त सम्मेलनबाट अध्यक्ष जयकुमार यादवलाई डा. अम्बेडकर सेवाश्री अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरी सम्मान गरिएको छ।
सम्मेलनको अध्यक्षता राज्यसभाका सांसद निरन्जन बिसिले गरेका थिए भने प्रमुख अतिथिका रूपमा भारत सरकारका पूर्व केन्द्रीय मन्त्री डा. सत्यनारायण जाटिया सहभागी थिए। विशिष्ट अतिथिहरूमा भारत सरकारका पूर्व केन्द्रीय मन्त्री संघप्रिय गौतम, हरियाणा सरकारका पूर्व स्वास्थ्य मन्त्री डा. एम.एल. रङ्गा, रिटायर्ड कर्नल डा. करम सिंहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा आकाशवाणीका पूर्व निर्देशक तथा नागरिकलिपि परिषद् महामन्त्री हरिसिंह पाल, शेडयुल्ड कास्ट वेलफेयर बोर्ड सिकिमका अध्यक्ष शेखर शिवा, हिन्दी बिभाग लखनैउ युनिभर्सिटीका पूर्व अध्यक्ष प्रा. डा. कालीचरण स्नेही, हिन्दी बिभाग दिल्ली विश्वविद्यालयका प्रा. डा. शैयोराज सिंह बैचन, शिवशेना हरियाणाका प्रदेश राज्यका अध्यक्ष निरज सेठी, नेपाल दलित साहित्य अकादमीका केन्द्रीय महासचिव युवराज विक, बी.डी.एस.ए. साउथ इण्डिया स्टेट्स कमिटीका अध्यक्ष प्रा. पी. विष्णु मूर्ति,बि.डि.ए साउथ ईन्डिया राज्य कमिटीका संगठन मन्त्री डा. जितेन्द्र मनु, बि.डि.एस.ए नेसनल को–अर्डिनेटर सुभाष एच. कांडे, नर्थ इण्डिया स्टेट् कमिटीका अध्यक्ष बृजलाल रविदास तथा एम जि काशी विद्यापीठ वाराणसीका प्रा. डा. पिताम्बर दासलगायतको उल्लेख्य सहभागिता थियो।
अन्तर्राष्ट्रिय स्तरको यस महासम्मेलनमा भारतका विभिन्न राज्यसहित अन्य देशहरूबाट पनि प्रतिनिधिहरू सहभागी भएका थिए। पहिलो दिन सम्मान दिवस र दोस्रो दिन अधिकार दिवसका रूपमा कार्यक्रम आयोजना गरिएको थियो। पहिलो दिन उदघाट्न कार्यक्रमको शुभारम्भ भगवान् बुद्ध र बाबा साहेब डा. अम्बेडकरको मूर्तिमा फूलमाला अर्पण तथा दीप प्रज्वलनसँगै बुद्ध वन्दना र भीम वन्दनाबाट गरिएको थियो।
अकादमी अध्यक्ष डा. सुमनाछर ज्यु ले स्वागत मन्तव्य राख्दै सहभागी सबै प्रतिनिधिहरूलाई हार्दिक स्वागत तथा अभिनन्दन गरेका थिए। सम्मेलनमा दलित साहित्य, समाज र अधिकारसम्बन्धी विविध विषयमा व्यापक छलफल गरिएको आयोजकले जनाएको छ।
