धनगढीमाई नगरपालिका भवनभित्र अवैध ग्राभेल प्रयोग भएको आरोप, स्रोत र अनुमति बारे प्रश्न उठ्दै

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

धनगढीमाई नगरपालिका भवनभित्र अवैध ग्राभेल प्रयोग भएको आरोप, स्रोत र अनुमति बारे प्रश्न उठ्दै


प्रदीप यादव

पुष ३०

सिरहा, धनगढीमाई नगरपालिकामा ग्राभेल उत्खनन तथा ढुवानी पूर्ण रूपमा बन्द रहेको अवस्थामा समेत नगरपालिका भवन परिसरभित्र ग्राभेल बिछ्याउने काम भइरहेको पाइएको छ। स्थानीयका अनुसार हालसम्म ५२ टिपर ग्राभेल नगरपालिका भवनभित्र प्रयोग भइसकेको छ, जसले ग्राभेल कहाँबाट र कसरी ल्याइयो भन्ने गम्भीर प्रश्न उठाएको छ।
नाम नखुलाउने शर्तमा एक टिपर चालकले दिएको जानकारीअनुसार उक्त ग्राभेल कुनै बिल–भौचरबिनै नगरपालिका भवनभित्र लगेर प्रयोग गरिएको हो। जब कि धनगढीमाई नगरपालिकामा आधिकारिक रूपमा ग्राभेल उत्खनन र ढुवानी बन्द रहेको छ, यस्तो अवस्थामा ग्राभेल प्रयोग हुनु नियमविपरीत भएको स्थानीयको आरोप छ।
स्थानीय नागरिकहरूले “ग्राभेल कहाँबाट आयो ? कसको अनुमति थियो ? र कसको संरक्षणमा यो काम भइरहेको छ ?” भन्दै नगरपालिकासँग स्पष्ट जवाफ माग गरेका छन्। उनीहरूका अनुसार यो घटनाले ग्राभेल माफिया सक्रिय रहेको र त्यसमा नगर प्रमुखको संलग्नता वा संरक्षण हुन सक्ने आशंका पैदा गरेको छ।

यस विषयमा नगर प्रमुख शिवशंकर महतोसँग प्रतिक्रिया लिन खोज्दा समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेन। नगरपालिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको अवस्थामा आरोपहरू थप गम्भीर बन्दै गएका छन्।
स्थानीय बुद्धिजीवी र सर्वसाधारणले यस प्रकरणको स्वतन्त्र छानबिन, प्रयोग गरिएको ग्राभेलको स्रोत सार्वजनिक गर्न, र दोषी देखिएमा कानुनी कारबाही गर्न माग गरेका छन्।
यदि समयमै स्पष्ट जवाफ नआए, जनस्तरबाट आन्दोलन चर्किने चेतावनी समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *