पुष्पराज गिरी
गोपीनाथ मैनाली नेपालको प्रशासनिक क्षेत्रमा लामो समय क्रियाशील व्यक्ति हुन् । प्रशासन सञ्चालन र व्यवस्थापनका हिसाबले उनी निकै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा चिनिन्छन् । नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी निजामती सेवामा कार्यरत मैनाली समसामयिक तथा साहित्य जगतमा पनि उत्तिकै परिचित नाम हो । साहित्यमा उनी गोपी मैनालीका नाममा परिचित छन् । लेखनमा विशेष रुचि राख्ने उनी विभिन्न उपयोगी पुस्तकका अलावा साहित्यिक कृतिसमेत प्रकाशन गरेर लेखन तथा साहित्यमा बेग्लै पहिचान स्थापित गर्न सफल देखिन्छन् । विशेषतः उहाँका साहित्य विधामा अधिक कृति निबन्ध सङ्ग्रह नै प्रकाशित भए पनि समालोचना र नियात्रा सङ्ग्रह पनि उल्लेख्य मात्रामा प्रकाशित छन् । तिनै निबन्ध सङ्ग्रहको शृङ्खलामा ‘घाउ आफैंलाई दुख्छ’ नामक निबन्ध सङ्ग्रह पछिल्लो प्रकाशित पुस्तक हो ।
वि.सं २०२० सालमा काभ्रेपलान्चोक जिल्लाको कानपुरमा जन्मिएका मैनालीको पहिलो प्रकाशित कृति अवसाद अभिनयी निबन्ध सङ्ग्रह (२०४०), हो । निबन्ध सङ्ग्रहपछि क्रमशः नियात्रा सङ्ग्रह ‘आँखाभरि रमिता मनभरि वेदना’ २०६३, प्रशासनिक सुधार, व्यवस्थापन र विकासका विषयवस्तुलाई समेटिएर तयार पारिएका पुस्तकहरू ‘प्रत्यक्ष शासन र जनआन्दोलन’ २०६४, ‘राज्य सञ्चालनका आधारहरू’ २०६६, ‘नेपालमा बजेट र योजना’ २०६७, ‘प्रशासन र सुशासन’ २०६८, ‘विकास, व्यवस्थापन र व्यावसायिकता’ २०७४ र पुनः साहित्यिक कृति ‘युगकवि सिद्धिचरण ः कृति र प्रवृत्ति’ विश्लेषण नामक समालोचना २०६८, ‘अपेक्षा र अनुभूति’ २०७४, प्रकाशित भइसकेका छन् । प्रस्तुत निबन्ध सङ्ग्रह ‘घाउ आफैंलाई दुख्छ’ २०७८ मैनालीका पछिल्लो प्रकाशित पुस्तक जसलाई सन्तोषी माता सञ्चार प्रा.लिले प्रकाशनमा ल्याएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एम.ए, एम.पी.ए (द्वय) तथा वि.एल सम्मको अध्ययन पूरा गरेका मैनाली सुप्रवल जनसेवाश्री पदक, धुलिखेल नगरपालिकाबाट धुलिखेल सेवा श्री विभूषणबाट विभूषित छन् भने आफ्ना सिर्जनाका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा र राष्ट्रिय प्रतिभा पुरस्कार (बाग्मती) बाट पुरस्कृत छन् । राष्ट्रसङ्घीय प्रणालीबाट गरिबी र वातावरणीय आबद्धताका लागि प्रशंसा, काभ्रे सेवा समाज र मैनाली सेवा समाजबाट सम्मानित एवं पुरस्कृत भएका छन् । कार्य सम्पादनका सिलसिलामा नेपालका विभिन्न जिल्ला सहित दुई दर्जनभन्दा बढी मुलुकहरूको भ्रमण गरेर अनुभव सँगालेका उनको साहित्य तथा समसामयिक लेखन, अध्यापन, अध्ययन, समाज सेवा र भ्रमणमा विशेष रुचि रहेको पाइन्छ । कार्य अनुभवका आधारमा प्रशासनिक, सामाजिक र विकासका योजनाहरू उनको लेखनका विषयहरू देखिन्छन् भने साहित्यिक लेखनमा उनको विशेष रुचि रहेको पाइन्छ । सङ्ख्यामा गन्ने हो भने साहित्य होस् वा प्रशासनिक आर्थिक क्षेत्रका उपयोगी पुस्तकहरू बराबरै मात्रामा भेटिन्छ ।
गोपीनाथ मैनाली नेपाली प्रशासनिक क्षेत्रका प्रबुद्ध, अनुभवी र हक्की स्वभावका खरो प्रशासककै रूपमा चिनिएका व्यक्ति हुन् । प्रशासनका उनी धुरन्धर प्रतिभावान् र क्षमता बोकेका अध्ययनशील व्यक्तित्व पनि हुन् । लामो समयसम्म प्रशासनिक क्षेत्रमा क्रियाशील रहेका कारण समग्र देश विकास र परिवर्तनका लागि अङ्गीकार गर्नुपर्ने पद्धतिहरूका बारेमा जानकार व्यक्ति पनि हुन् उनी । यसका साथसाथै नेपाली साहित्यमा पनि बिर्सन नसकिने किसिमको बेग्लै पहिचान बनिसकेको छ । पेसागत र जानकार विषय भन्दा फरक तर विशेष क्षेत्र नै साहित्य हो कि जस्तो अनुभूति उनका साहित्यिक कृतिहरू अध्ययन गर्दा हुन्छ नै । नियात्रा, समालोचना र निबन्धहरूका थुप्रै लेखन र सङ्ग्रहहरू पनि अधिक मात्रामै छन् । यी मध्ये नयाँ निबन्ध सङ्ग्रह हो ‘घाउ आफैंलाई दुख्छ ।’
‘घाउ आफैलाई दुख्छ’ भित्र थुप्रै शीर्षकका निबन्धहरू समेटिएको छ । विषय वस्तुको दृष्टिबाट कोही आत्मपरक कोही वस्तुपरक शैलीका छन् । फरक—फरक समय र सन्दर्भमा लेखिएका भएर होला प्रसङ्ग र अभिव्यक्तिहरूको लेखनीमा विविधता पाइन्छ । निबन्ध सङ्ग्रहबारे लेखक मैनाली स्वयं कै अभिव्यक्तिलाई उदृत गरौँ ‘प्रत्येक निबन्ध एक बसाइमा लेखिएका छन् । केही सपनामा देखिएका, केही बिपनामा भोगिएका, केही भोग्न चाहेका तर नपाएका र केही आफैँ र आफ्नै परिवेशप्रति प्रतिक्रिया राखेर पनि निबन्धमा आफूलाई पोखेको छु, आक्रोश छ, असहमति छ, अपेक्षा छन् र स्वैरकल्पनाहरू छरपस्ट छन् ।’ लेखक स्वयंका भनाइ र कृतिमा भएका शीर्षक विविधीकरणलाई हेर्दा यस्तै नै पाइन्छ । परिवेश र वस्तु अवस्था, भिन्न—भिन्न समय र प्रवृत्ति प्रति सहमत—असहमत, आशा निराशा र यो भन्दा माथि उठेर कल्पना र अपेक्षाको आशा यिनै अनुभूतिहरूबाट प्रेरित भएर सिर्जना भएका, तर विषय शीर्षकहरू फरक रहेका तीस वटा निबन्धका एकमुष्ट सङ्कलन र सङ्ग्रह बनेको छ ‘घाउ आफैलाई दुख्छ ।’
घटना समय र परिणामहरू भिन्न र फरक हुन सक्छन्, हुन्छन् पनि । तर निचोड एउटै हो, आफ्नो अनुभव र अनुभूति जुन कसैसँग मिल्दैन । उस्तै—उस्तै देखिन्छ मात्र, उही हुँदैन । किनभने सबै मानिसहरूको जीवन जिउने उद्देश्य फरक हुन्छ । जीवनको सपना भिन्न हुन्छ तर पनि आफ्नै सपना ठुलो हुन्छ । कारण सबैलाई आफ्नै सपना र लक्ष्य ठुलो र महत्त्वको लाग्छ । पुस्तकको शुभारम्भकै निबन्ध शीर्षक ‘आफ्नै कथा विशेष हुन्छ’ यस्तै मुलभावले प्रेरित छ । सफल मानिएका व्यक्तिका प्रगतिका कुरा, सपनाका कुरा उल्लेखित छन् । तर अरूका सपनाका कुरा आफ्ना लागि कल्पना मात्र पनि हुन सक्छ भन्ने दर्शन बुझ्न कठिन छैन । आफ्नै सपना र आफ्नै सङ्घर्षका यात्रा अर्थात् आफ्नै कथा विशेष हुन्छ शीर्षकमा लेखकले कृतिमा समेटिएका थुप्रै शीर्षकहरूलाई समग्र प्रवृत्तिका रूपमा प्रस्तुत गर्न सक्छ । शीर्षकसँग पनि उल्लेख्य मात्रामा सामाजस्यता र निकटताको सम्बन्ध निबन्धहरुले अभिव्यक्त र सार्थक गरिरहेका पाइन्छन् ।
कृतिको शीर्षकसँगै सङ्गृहीत निबन्ध ‘घाउ आफैलाई दुख्छ’ मानव जीवनका उतार चढाव दुख—सुखका अनुभव र अनुभूतिलाई आफ्नै यथार्थपरक अनुभूति र शैलीमा प्रस्तुत गरिएको छ । दुखका विभिन्न स्वरूप र शैलीहरू छन् । केही मनका दुख, केही व्यवहारका र केही नियतिका दुखहरू । जीवनमा दुख आइपर्छ नै । तर दुख जसको होस र जस्तो होस दुख पोखिन पाउनु पर्छ । तर आफ्नो दुख सहज पोखिन्छ, अरूको पोखिने ठाउँ पाउँदैन । सर्जककै भावना उद्धृत गरौँ —‘आफ्नो दुख मात्र आफूलाई दुख्छ । आफ्नो पीडा मात्र आफूलाई अनुभूति हुन्छ । समाजमा मानवीय संवेदना सकिँदै जाँदा आफ्नो दुख आफैंलाई मात्र दुख्छ ।’ जीवन यात्राका विविध पक्षहरू, कर्महरू र अनुभूतिहरू नै यी दुख र दुखहरू र यिनका निराकरणको आत्मपरक समाधानको बाटो पहिल्याउन निबन्धकारले खोजेका छन् । स्वयंकै अनुभूति र स्वयंकै सङ्घर्षको यथार्थ बाटोको यात्रा अनुभूतिबाट नै जीवनको कर्म अर्थात् सुख—दुखलाई बुझ्न फेरबदल गर्ने प्रयास गर्न सकिन्छ र कोसिस गर्नुपर्छ भन्ने सन्देश थुप्रै सङ्गृहीत कृति भित्रका निबन्ध शीर्षकहरूले सार्थक गर्न खोजेको प्रस्ट बुझिने भएकाले शीर्षक सार्थकता पर्याप्त छ भन्न अप्ठेरो छैन । समय, प्रवृत्ति, विषय, प्रसङ्ग फरक छन् । फरक—फरक समयका सिर्जनाहरू छन्, तर समग्रतामा अनुभूति सर्जक स्वयंकै हो, सिर्जना र सन्देश पनि । त्यसैले ‘घाउ आफैंलाई दुख्छ’ शीर्षक चयन र सार्थकताले पूर्णता पाएको छ भन्दा अति युक्ति नहोला ।
पुस्तकका अधिकांश निबन्धहरूलाई छोटो आलेखमा समेट्न सकिँदैन । समग्रमा सर्जकको भाव र विषयवस्तुहरूको विविधीकरणलाई पनि सजिलै उल्लेख गर्न सकिँदैन । त्यसैले माथि कृति र निबन्धका मूलभूत र सारभूत रूपमा सर्जकका भावना र अभिव्यक्तिलाई समेट्ने कोसिस मात्र भयो । निबन्धका भाषा शैली सरल, सहज आत्मपरक शैलीमा बगाएर अध्ययनमा समेत मिठास भर्न निबन्धकार सफल देखिन्छन् । अनुभवी र खारिएका लेखक हुन निबन्धकार । त्यसैले पनि आफ्ना अभिव्यक्ति आफ्नो मात्र नभएर समग्र पाठकको पनि हो भन्न कुनै कन्जुस्याइ गरेका छैनन । संग्रहमा आत्मपरक, वस्तुपरक र संस्मरणात्मक अभिव्यक्तिहरू र कतिपयमा कल्पनायुक्त सिर्जनाहरू कलात्मक रूपमा निबन्धमा विषयवस्तु प्रस्तुत गरिएका पाइन्छन् । त्यसैले पनि आत्मपरक शैलीका उत्कृष्ट निबन्धकारको रूपमा मैनालीलाई परिचित गराउन प्रस्तुत निबन्ध सङ्ग्रह ‘घाउ आफैलाई दुख्छ’ सक्षम र सबल देखिन्छ ।