युवापुस्ताको चाहनाबमोजिम काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

अन्तर्राष्ट्रिय प्रमुख समाचार प्रशासन राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएकी छन् ।

सिंहदबारमा आज पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहनाबमोजिम सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसद्लाई जिम्मेवारी दिने उदेश्यका साथ आएको स्पष्ट गरिन् ।

‘कुन परिस्थितिबाट अन्तरिम सरकार बन्यो यहाँलाई विदितै छ । ठूलो जनधनको क्षति भएको छ । मुख्य निकायका प्रमाण र अभिलेख नष्ट हुँदा शून्यमा पुगेका छौँ । सुरक्षा निकायलाई दिइएका सवारीसाधन जलेका छन् । हत्याहिंसा भएको छ ।

अत्याश्यक निकायलाई छानीछानी आक्रमण गरिएको छ । यसको अनुसन्धान हुन बाँकी छ’, उनले भनिन्, ‘नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरु अनुहार देखाउन नमिल्ने भएका छन् । यो षड्यन्त्र नियोजित हो कि भन्ने लागेको छ । अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रधानमन्त्री कार्कीले क्षतिपूर्ति र पुनःनिर्माणका काम देशमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै यो मुलुकविरुद्ध गरेको नृशंस कार्यको एकताबद्ध भएर, जनतालाई गुहारेर सामना गर्नुपर्र्नेमा जोड दिइन् ।

‘म हिजो महाराजगञ्ज जाँदा त्यहाँ जलेको प्रहरीवृत्त बनाउने जिम्मा त्यहाँका व्यवसायीले लिन्छौँ भन्नुभयो, मैले उहाँहरुलाई धन्यवाद दिएँ । हामी सबै यसरी नै मिलौँ । एकलेअर्काको आलोचना नगरौँ । मलाई सहयोग गर्नुहोस्’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *