बिर्तामोड । नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीको आयोजनामा पार्टी कार्यालय बिर्तामोडमा “समसामयिक राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” विषयक गम्भीर विचार–विमर्श सम्पन्न भएको छ।
कार्यक्रममा वर्तमान राजनीतिक संकट, वाम आन्दोलनको दिशा र समाजवादी रूपान्तरणका कार्यभारबारे विस्तृत छलफल गरिएको थियो।
छलफलमा सहभागी नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलन अहिले गम्भीर संकटमा परेको जनाउँदै यसको समाधानका लागि नयाँ ढङ्गले सोच्ने, विचारको विकास गर्ने र कार्यशैली तथा जनशैलीमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे। उनीहरूका अनुसार अबको आवश्यकता हो आफैंमा रूपान्तरणको क्रान्ति हाे ।
बैठकले छलफलको साझा निष्कर्षकाे रुपमा नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न, आत्मपरिवर्तन, विचारको अद्यावधिक र जनसम्बन्धको पुनर्निर्माण अनिवार्य रहेकाे जनाएकाे छ ।
यस्तै, गणतन्त्र धर्मनिरपेक्षता, संघीयता, समावेशी र समानुपातिक राज्य प्रणालीलाई संस्थागत गर्दै देशलाई प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रणाली तर्फ अघि बढाइनुपर्छ।
संकटपूर्ण वर्तमानलाई चिर्दै न्याय, समानता र समृद्ध मुलुक निर्माणका लागि समाजवादी क्रान्तिको तयारी आरम्भ गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
साथै, विचार मिल्ने छलफलको साझा निष्कर्ष यसप्रकार रहेको छः पार्टीहरूबीच एकता गरी नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने धारणा सर्वसम्मत रूपमा प्रस्तुत गरिएको छ।
कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका प्रतिनिधि र स्थानीय नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले छलफललाई वाम आन्दाेलन पूनर्गठनको दिशामा महत्त्वपूर्ण वैचारिक सन्देशको रूपमा व्याख्या गरेका छन्।